बैशाख २१, २०८१, शुक्रबार
               

राणा-लोहनीले किन रोजे धार्मिक यात्राको बाटो ? थापाको शुभकामनाको अर्थ के ?

नेपाल फ्ल्यास
कात्तिक २९, २०७६

ADVERTISEMENT

राप्रपा संयुक्तका अध्यक्षद्वय अहिले धार्मिक यात्रामा छन् । देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै उनीहरू जनकपुर-लुम्बिनीको धार्मिक यात्रामा हिँडेका छन् । यात्रा हिजो बिहीबार जनकपुरधामबाट सुरु भएको थियो । यो यात्रा मङ्सिर ४ गते लुम्बिनी पुगेर टुङ्गिने छ ।

राप्रपा संयुक्तका अध्यक्ष पशुपति समसेर राणा यात्राका क्रममा आयोजित कोणसभाहरूमा आक्रामक ढङ्गले प्रस्तुत भएका छन् । उनले यो चरणको धार्मिक यात्रापछि काठमाडौँ घेर्ने उद्घोष गरेका छन् । 

राणा सदैव हिन्दु राष्ट्रका पक्षमा थिए । तर यसरी मैदानमा उत्रिएका थिएनन् । नेपालप्रति छिमेकीको चासो र दृष्टिकोण राम्रोसँग बुझ्ने राणा यस पटक हिन्दुको मुद्दा लिएर सडकमा जानुलाई निकट भविष्यमा नै नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापनाको मुद्दा प्रखर हुने विश्लेषण गर्न सकिन्छ । खास गरी भारतीय नेताहरूसँग सुमधुर एवं कतिपयसँग पारिवारिक सम्बन्ध भएका राणाले नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापनामा दक्षिण छिमेकको पनि साथ हुने बुझेका छन् । तर उनी कहिल्यै पनि नेपालमा हुने अबको परिवर्तनमा भारतको हात रहन्छ भन्ने बोल्दैनन् । भारत मामिलामा उनी मौन बस्दै आएका छन् ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी त पूर्वपरराष्ट्रमन्त्री नै हुन् । विश्व राजनीतिक रङ्गमञ्चमा बग्ने हावाबारे उनी अनभिज्ञ हुन सक्दैनन् । उत्तर र दक्षिण दुवै छिमेकीले नेपालमा परिवर्तन होस् भन्ने चाहना राखेको बुझेर उनी हिन्दुत्वको आन्दोलनमा होमिएको अनुमान कतिपयको छ ।

उनले नेपालीको चाहना नभई विदेशी दबाब र प्रभावमा परेर धर्मनिरपेक्ष घोषणा गरिएको भन्दै आन्दोलनको उद्घोष गरिरहेका छन् ।

राणा तथा लोहनीले मुलुकमा अब परिवर्तन संभव देखेर नै यो बाटो लिएको विश्लेषण धेरैले गरेका छन् ।

कमल थापाले किन दिए शुभकामना ?

यसैबिच राप्रपा अध्यक्ष कमल थापाले राप्रपा संयुक्तको धार्मिक यात्राको  सफलताको कामना गरेका छन् ।

प्राय नेपालका राजनीतिक दलहरू एकआपसमा फुटेपछि प्रतिस्पर्धी दलप्रति टकराबको भाव राख्दछन् । शुभेच्छा र शुभकामना दिनभन्दा रोष र कटाक्ष गर्ने गर्दछन् । तर अमेरिका भ्रमणमा रहेका थापाले ट्विट गरी राप्रपा संयुक्तको धार्मिक यात्रा सफलताको कामना गरेका हुन् ।

 

अध्यक्ष थापाको यो शुभेच्छालाई राप्रपाजनहरुले निकट भविष्यमा पार्टी एकताको सङ्केतका रूपमा पनि बुझेका छन् ।

धार्मिक यात्राका केही फोटोहरू

 


कस्तो लाग्यो ?

यो पनि