बैशाख २१, २०८१, शुक्रबार
               

लक्ष्मी पूजा किन ? हेर्नुहोस् पूजा विधि

नेपाल फ्ल्यास
कात्तिक १०, २०७६

ADVERTISEMENT

धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी आजलक्ष्मीपूजा मनाइँदैछ ।
 
आजको दिनमा बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक विश्वास छ ।

आज घर सफा राख्ने, दैलो, झ्याल, ढोका, कौसी सबैतिर सरसफाइ गरी झिलिमिली बनाउने गरिन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
 
सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलीले भगवानलाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गरेका थिए । यमपञ्चकमा जुन घरमा  दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले धनदौलतमात्र होइन कि सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ ।

नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । लक्ष्मी धनकी देवी हुन् ।

पूजा विधि

यस दिन प्रातः उठेर नित्यकर्म गरी दिनभर लक्ष्मीको उपवास बसेर सन्ध्याकालमा स्नान गरी लक्ष्मीको पूजा गर्नुपर्दछ । पूजामा बस्दा शुद्ध हुनुपर्दछ । छालाका सामान वा फुटेका भाडाबर्तन प्रयोग गर्न हुँदैन ।

मण्डपमा दीप–कलश–गणेशको पूजा गरिन्छ । यस दिन विशेष रूपले गणेश, इन्द्र, कुबेर र लक्ष्मी स्थापना गर्नु पर्दछ । तीन देवी देवताको प्राणप्रतिष्ठापूर्वक पूजा गर्नुपर्दछ । मण्डप निर्माण गर्न नसके पनि पूजास्थानमा तामा वा काँसको थालीमा अष्टदल लेखी अष्टदलको बीचमा लक्ष्मीको सुवर्णप्रतिमा स्थापना गर्नुपर्छ ।

हातमा द्रव्य र जल लिएर “मेरो घरमा मलाई वेद, पुराण, धर्मशास्त्रहरूले बताए अनुसार अहिलेसम्म प्राप्त गर्न नसकेकी लक्ष्मी प्राप्त हऊन् र आर्जित लक्ष्मी दीर्घकालसम्म रहिरहून्, यसका लागि दीप–कलश–गणेश महालक्ष्मीसहित, सरस्वती, इन्द्र र कुबेर आदिको पूजा गर्दछु ।”

यस्तो संकल्प पश्चात् अर्घ स्थापनागरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नमस् भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दिप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने तत्पश्चात् इशानकोणमा रहेको वरुण कलशको पनि यसै गरी पूजा गर्नु पर्दछ ।

“महालक्ष्मीजीको प्रतिमा, मूर्ति वा फोटो राख्ने र महालक्ष्मीजीको पूजनको लागि हातमा कमलफूल रातो अक्षता लिएर ध्यान गर्दै चढाउने यदि प्रतिमा, मुर्ति वा फोटोको प्राणप्रतिष्ठा नभएको भए प्राणप्रतिष्ठा गर्ने र फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने, ॐ महालक्ष्मै नमस् भन्दै पद्य, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई दही, घ्यू र मह मिश्रित मधुपर्क तथा गंगाजलले स्नान गराई महालक्ष्मीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, अक्षता, वस्त्र, सौभाग्य चढाउनु पर्दछ तत्पश्चाट जौ, तिल, फूल, माला, बेलपत्र, सहित सम्पूर्ण उपचारले पूजा गर्दै महालक्ष्मीको ॐ महालक्ष्मै नमस् भन्दै अङ्ग पूजनगरि धूप, दिप, विभिन्नखाले नैवेद्य, फलफूल, पान, सुपारी, भोगटे, कौडी, कमलगट्टा, कमलको फूल, जटानरिवल विशेष रूपमा चढाइन्छ, यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास छ, त्यसपछि रातो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । यसै समयमा सरस्वती र कुवेरकोपनि पूजा गर्नु पर्दछ । तत्पश्चात् हातमा फूल, चन्दन र अक्षताले अङ्गपूजा गर्ने ।

ॐ चपलायै नमः, पादौ पूजयामि ।
ॐ चञ्चलायै नमः, जानुनी पूजयामि ।
ॐ कमलायै नमः, कटिं पूजयामि ।
ॐ कात्यायन्यै नमः, नाभिं पूजयामि ।
ॐ जगन्मात्रे नमः, जठरौ पूजयामि । स्तनौ पूजयामि ।
ॐ विश्ववल्लभायै नमः, वक्षस्स्थलं पूजयामि ।
ॐ कमलवासिन्यै नमः, हस्तौ पूजयामि ।
ॐ पद्मानानायै नमस्, मुखं पूजयामि । ॐ कमलपत्राक्ष्यै नमस्, मुखं पूजयामि ।
ॐ श्रियै नमः, शिरः पूजयामि ।
ॐ महालक्ष्म्यै नमः, सर्वाङ्गं पूजयामि ।
अब महालक्ष्मीको निराजन आरति सङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ पुनस्
ॐ अमलकमलसंस्था–तद्रजः पुञ्जवर्णा ।
करकमलधृतेष्टा भीतियुग्माम्बुजा च ।
मणिमुकुटवित्रतालङ्कृता कल्पजालै–
र्भवतु भुवनमाता सन्ततं श्रीः श्रियै नः ।।

यो मन्त्र द्वारा पुष्पाञ्जली गरेर आरतिलाई सितलगरि सबैजनाले आरतिलिनु र आफ्नो मनोकामना पूर्णहोस् भनि जगत् जननी महालक्ष्मीलाई साष्टाङ्ग प्रणामगरि आशिर्वाद लिनु पर्दछ । यसरी गरिएको पूजाबाट महालक्ष्मी प्रसन्न भई भक्तहरूको मनोकामना पूरा गरिदिने विश्वास रही आएको छ ।


कस्तो लाग्यो ?

यो पनि