बैशाख २२, २०८१, शनिबार
               

यस्तो छ महाअष्टमीको महिमा

नेपाल फ्ल्यास
असोज १८, २०७६

ADVERTISEMENT

बडादशैंको आठौं दिनलाई महाअष्टमी भनिन्छ । महाअष्टमीमा माता दूर्गा भवानीको पूजा आराधना गरिन्छ ।

यो दिन दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने चलन छ ।

प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति) अष्टमीका दिन उत्पत्ति भएको धार्मिक विश्वास छ ।

अष्टमीका दिन देशभर देवीलाई बली दिएर पूजाअर्चना गरिन्छ । बोका, कुखुरा, हाँस, राँगो आदिको बलि दिइने गरिन्छ । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँलाको बली दिने गर्दछन् ।

महाअष्टमीमा कुलदेवी, देवता र स्थानीय देवीदेवताको पूजा गर्ने गरिन्छ ।

काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला गर्ने गरिन्छ । साथै यसै दिन दशैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि दिने गरिएको छ ।

महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा पनि गरिन्छ । महाअष्टमीमा धेरैले खेतीमा प्रयोग हुने हतियार तथा कृषि तथा कलकारखानाका औजारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन् ।

वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छन् । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध (हतियार)हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ ।

हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् भन्ने शास्त्रीय सन्देश रहेको छ ।

काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ ।

यस्तै, काभ्रेस्थित पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगञ्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुर राजदेवी, डडेल्धुरा उग्रतारालगायत पीठहरुमा पूजाआराधना हुन्छ ।

दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ ।


कस्तो लाग्यो ?

यो पनि