नुहाउनु मानिसको दैनिकी हो । नुहाउन कुनै सावधानी वा अर्थको रूपमा मानिसले लिने गरेको पाइँदैन । यसलाई शरीर सफा राख्नुसँग मात्र सरोकार राखिएको पाइन्छ ।
तर शास्त्रीय हिसाबले स्नानको अरू महत्त्व पनि छन् । नुहाउनेबारे विधि पनि छन् ।
चाणक्य शास्त्रले भन्छ :
तेल मालिस गरेर नुहाउनु भनेको छ । शरीर स्वस्थ र चमकदार बनाउन सातामा कम्तीमा एक पटक पुरा शरीरमा तेल मालिस गर्नुपर्छ । तेल मालिसले शरीरमा रहेका छिद्रहरू खुल्ने र त्यसले विकार बाहिर निकाल्ने विश्वास गरिएको छ । तेल मालिस गरेको केही समयपछि नै नुहाउनु शास्त्रले भनेको छ । यसरी मालिस गरेपछि स्नान नगरीकनै हिँडडुल गर्नुलाई अशुभ मानिन्छ ।
चाणक्य नीतिले सम्भोगपछि नुहाउन सुझाव दिएको छ । सम्भोगले पुरुष र महिला दुवै अपवित्र हुने भएकोले सो कार्यपछि स्नान अनिवार्य भनेको छ । सम्भोगपछि बिना स्नान धार्मिक विधि एवं कार्यका लागि कुनै पनि व्यक्ति योग्य हुँदैन ।
कपाल काटेपछि अनिवार्य रूपमा स्नान गर्नुपर्छ । नीतिले भन्छ- कपाल काटेपछि शरीरभरि कपालका स(साना टुक्राहरू झर्छन् । त्यो विकार हटाउन नुहाउन अनिवार्य छ ।
अर्को महत्त्वपूर्ण कुरा मलामी गएको व्यक्ति फर्किएपछि नुहाउनै पर्छ । घाट वरिपरि रोग लगाउने खालका कीटाणु हुने र त्यसले स्वास्थ्यलाई जोखिममा पार्न सक्ने भएकोले मलामी गएर फर्किएपछि नुहाउन चाडक्यनीतिले भनेको छ ।