बैशाख २५, २०८१, मंगलबार
               

साउन १५ मा किन खाइन्छ खीर ?

नेपाल फ्ल्यास
साउन १४, २०७६

ADVERTISEMENT

साउन १५ अर्थात् खीर खाने दिन । किन साउन १५ मा खीर खाइन्छ ? हिन्दु शास्त्रले के भन्छ ?

वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाने गरिन्छ । हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको सांस्कृतिक एवं वैज्ञानिक महत्त्व छ ।

साउन महिना खीर खानका लागि उपयुक्त हुने विश्वास रहिआएको छ । बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा विकास भएको भन्ने मान्यता रहिआएको छ ।

साउनमा विभिन्न रोगहरूबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको पोसिलो खीर खाने गरिन्छ । खीरले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्दछ । वर्षा समयमा विभिन्न सङ्क्रमण रोग हुने र खीरले त्यसबाट बचाउन सहयोग गर्ने ५ ।

साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान् शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोग प्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोसिला परिकार खाने चलन छ ।

सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रूपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोसिलो परिकार बनाई खाने चलन रहेको छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्न खीर खाने चलन रहेको जानकारहरू बताउँछन् ।

खीरलाई स्वादिष्ट बनाउन मरीच, ल्वाङ, सुकुमेलगायत मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाइको खीर शक्तिबर्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि