असोज २६, २०८१, शनिबार
               

सामान आयातमै बाहिरिन्छ अर्बौं रकम
टुथपिकदेखि सियोसम्म आयात

नेपाल फ्ल्यास
साउन १३, २०८०

ADVERTISEMENT

काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि देशको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुनै सक्दैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको हाम्रोजस्तो देशले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अति आवश्यक हुन्छ । तर, हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले देशको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ ।

भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार देशमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ । पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गएको आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथ पिक) आयात भएको देखिन्छ ।

विभागका अनुसार गएको आर्थिक वर्ष (आव)मा एक करोड १३ लाख ३७ हजार रुपैयाँ मूल्य बराबरको दाँत कोट्याउने सिन्को  (टुथ पिक)  आयात भएको छ । बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको छ  त्यस्तै करिब एक करोड रुपैयाँ बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ । विभागका अनुसार गएको आवमा दुई करोड पाँच लाख ४९ हजार रुपैयाँ मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ । 

यस्तै विभागका अनुसार गएको आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा दुई करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । गएको आवमा एक करोड ७३ लाख ९१ हजार रुपैयाँको सेफ्टी पिन र ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले ६७ लाख ४९ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम देशबाट बाहिरिरहेको छ । सार्वजनिक विवरणअनुसार गएको आवमा एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् । एक वर्षमा एक अर्ब २६ करोड ५४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका पेचकिला(स्क्रु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको नट आयात भएको छ । विभागका अनुसार गएको आवमा १५ कारोड ८५ लाख रुपैयाँ बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि