कात्तिक ३०, २०८१, शुक्रबार
               

खाना पकाउने ग्यासमा लगानी थप्दै उद्योगीहरु

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय मुलुकमा बिजुली उत्पादन निरन्तर बढ्दै गएपछि खाना पकाउने ग्यास विस्थापनको विषय उठ्न थालेको छ ।बिजुलीको प्रयोगबाट ग्यास विस्थापन गर्न सके बर्सेनि अर्बौं रुपैयाँ विदेशिनबाट जोगिने विज्ञहरु बताउँछन् । तर यही बेला ग्यास उद्योगीहरु भने लगानी विस्तार गरिरहेका छन् ।

उद्योगी दिवान चन्दले गत मंसिरमा आरती ग्यास उद्योग खरिद गरे । त्यसको दुई महिनापछि एचपी र राजधानी ग्यासको ५०/५० प्रतिशत सेयर किने । सुदूरपश्चिममा रहेको रेडियन्ट ग्यासबाट लगानी विस्तार गरेका चन्द धादिङको एचपीसम्म आइपुग्दा ग्यास उद्योगमै सम्भावना देखिरहेका छन् । उनी ग्यास विस्थापनको नारा लोकप्रियताका लागि मात्र भएको बताउँछन् ।

ग्यास बिक्रीको एकाधिकार रहेको सरकारी संस्थान आयल निगमले नै ग्यास विस्थापनमा बिजुली बेच्ने निकायलाई सघाउने प्रस्ताव गरेपनि दिवान विचलित छैनन् । ‘बिजुलीले ग्यास विस्थापन हुने सम्भावना छैन, हामी त अझै लगानी थपिरहेका छौं,’ उनी भन्छन्, ‘अहिलेको (विद्युत) प्राधिकरणको प्रणाली र दाउरा भन्दा ग्यास सस्तो र सरल छ । त्यसैले पनि एलपी ग्यास बिजुलीले विस्थापन गर्न सक्दैन ।’

नेपाल एलपी ग्यास उद्योग संघका महासचिव समेत रहेका चन्द ग्यासको खपत हालको भन्दा दोब्बरसम्म पुग्न सक्ने बताउँछन् । चन्दको कुरामा संघका अध्यक्ष गोकुल भण्डारी पनि सहमत छन् । ५२ वर्षअघि सुरु भएको व्यवसाय र ५० अर्ब बढीको लगानी रहेको ग्यास उद्योग बिजुलीले विस्थापन हुनै नसक्ने भण्डारी ठोकुवा गर्छन् । ग्यास विस्थापन गर्न भान्सामा बिजुलीको पूर्वाधार तयार नभइसकेको भण्डारीको भनाइ छ ।

देशभर बोटलिङ प्लान्टसहितका ५९ वटा ग्यास उद्योग सञ्चालनमा छन् । नेपाल एलपी ग्यास उद्योग संघको तथ्यांक अनुसार ५९ उद्योगमा ५० अर्ब रुपैयाँ भन्दा धेरै लगानी छ । उद्योग, डिलर र ढुवानीमा गरेर झण्डै ५० हजार मानिसले ग्यास क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएको संघका अध्यक्ष भण्डारीले बताए ।

नेपालमा मासिक ४० देखि ४५ हजार मेट्रिक टनसम्म खाना पकाउने ग्यास खपत भइरहेको छ । यो भनेको महिनामा २८ लाख सिलिन्डर हो ।भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो चार वर्षमा नेपालले भारतबाट एक खर्ब २६ अर्ब ७८ करोड १२ लाख ३६ हजार रुपैयाँको खाना पकाउने ग्यास आयात गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा २७ अर्ब १३ करोड ९ लाख ४४ हजारमा ३८ करोड ३२ लाख ९० हजार ५५६ किलो, आर्थिक वर्ष ०७५/७६ मा ३५ अर्ब ५४ करोड ८४ लाख ६६ हजार रुपैयाँमा ४२ करोड ८८ लाख ४० हजार १५७ किलो ग्यास आयात गरिएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ मा २७ अर्ब ९४ करोड ८९ लाख १५ हजार रुपैयाँमा ४० करोड ६ लाख १८ हजार २९९ किलो र ०७७/७८ मा ३६ अर्ब १५ करोड २९ लाख ११ हजार रुपैयाँमा ४७ करोड ७४ लाख २२ हजार २९५ किलो ग्यास आयात गरेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि