बैशाख २१, २०८१, शुक्रबार
               

उखु किसानद्वारा फेरि आन्दोलनको चेतावनी

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । चिनी मिलले आफूहरूको बक्यौता रकम नदेखिएको भन्दै उखु किसानहरू फेरि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । पटकपटक आन्दोलनमा उत्रिँदै आएका किसानहरूले अझैसम्म पनि आफूहरूको बक्यौता रकम मिलले भुक्तानी नदिएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । 

आफूहरूको बक्यौता रकम दिलाउने सरकारले गरेको प्रतिबद्धता पनि पूरा नभएको भन्दै उनीहरूले आफूहरूको आन्दोलनका क्रममा कुनै अप्रिय घटना भएका सरकार र चिनी मिल जिम्मेवार हुने बताएका छन् । 

किसानहरूले आफूहरूले उब्जाएको बस्तुको भाउ आफैँले तोक्न नपाउनु दुखद भएको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बास्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा )का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियन अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इन्चार्ज कृष्ण रानाले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

यस्तो छ प्रेस विज्ञप्तिको पूर्णपाठ :

देशको अर्थतन्त्र र राजनीतिक परिवर्तनको मुख्य चालक शक्ति भएर पनि परिवर्तनको प्रत्यक्ष फल चाख्न नपाउने वर्गको रूपमा किसान समुदाय रहेको कुरा जगजाहेर छ । रातोदिन वर्षा, झरी, गर्मी, ठन्डी, हिउँ, तुसारो नभनीकन वर्षभरि परिश्रम गरेर उत्पादन गरिएका कृषि उपजहरूले बजार नपाउनु, बजारमा लगिएका आफ्ना उपज/वस्तुको मूल्य आफैँले निर्धारण गर्न नपाउनु र महिनौँको मेहनतबाट उत्पादन गरेको वस्तुमा उत्पादक किसानहरूले अत्यन्तै कम मूल्य पाउनु तर उपभोक्ता तथा आम सर्वसाधारणले अत्यधिक मूल्य चुकाउन वाध्य हुनुपर्ने र उपभोग्यवस्तुको मूल्यको ठुलो हिस्सा बिचौलिया, दलाल र व्यापारीहरूले पाउने स्थिति नेपाली कृषिको तितो यथार्थ हो । त्यसमाथि बेचिएको वस्तुको वर्षौँसम्म भुक्तानीसमेत प्राप्त गर्न नसक्नुले किसानहरूको थप शोषण मात्रै भइरहेको छैन, उनीहरूका चहराइरहेका घाउमाथि नुन–चुक थप्ने काम निरन्तर हुँदै आएको छ ।

यस सन्दर्भमा विगत लामो समयदेखि उखु उत्पादक किसानहरूले आफ्नो मेहनतबाट उत्पादित वस्तु चिनी मिल तथा अन्य व्यापारीहरूलाई बिक्री वितरण गरिसकेपछि पनि वर्षौँदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखद कुरा हो । यो उखु उत्पादक किसानहरूका लागि पीडादायक कुरा हो भने किसानको उखु किनेर पैसा नतिर्ने, वर्षौँ वर्ष झुलाएर राख्ने उद्योगी, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि राष्ट्रिय लज्जाको विषय हो ।

यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान सङ्गठनहरू र उखु किसानहरूलाई झुटो आश्वासन दियो तर आफ्नो वचन पूरा गरेन । किसानहरू जिल्ल परे । परिणामतः आज नेपाली उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेको छ र पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको छ । तसर्थ वर्तमान सरकारले ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानीबापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जानासमेत) एकमुस्ट रूपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अविलम्ब भुक्तानी गर्न/गराउन हामी किसान सङ्गठनहरू जोडदार माग गर्दछौँ । यदि किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखु किसानहरूको पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारविरुद्धमा कडा संघर्षमा उत्रने र संघर्षको मैदानमा कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित चिनी उद्योगी, व्यापारी तथा सरकार हुने कुरा पनि यसै प्रेस वक्तव्यमार्फत स्पष्ट पार्न चाहन्छौँ ।


कस्तो लाग्यो ?

यो पनि