बैशाख २५, २०८१, मंगलबार
               

प्राधिकरणको नाफा घट्यो, तीन अर्ब ५१ करोड नाफा

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको हो ।

यस्तै, सामुदायिक संस्थातर्फ पाँच लाख ५० हजार पुगेका छन् । यस आधारमा देशभर विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या ५० लाख ८० हजार पुगेको छ ।

प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा दिइएको विवरण अनुसार देशका ७४ जिल्लामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । कर्णाली प्रदेशको कालीकोट र जुम्लामा आव २०७७/७८ मा मात्रै केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो । सो प्रदेशको डोल्पा, मुगु र हुम्लामा आगामी दुई वर्षभित्र प्रसारण प्रणाली पुर्‍याउने योजनामा प्राधिकरण रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हालसम्म देशको ९० प्रतिशत जनसङ्ख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत् पुगेको छ । बिजुली पुर्‍याएर मात्रै नहुने भन्दै उनले अब विश्वसनीय र प्रभावकारी बिजुली उपलब्ध गराउने चुनौती प्राधिकरणको सामु रहेको बताए ।  

कोरोनाले बढायो चुहावट

कोरोना कहरका कारण चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकिएको प्राधिकरणले स्वीकार गरेको छ । एक प्रतिशत चुहावट बढ्दा झण्डै ७० करोड बराबरको नोक्सानी हुने देखिन्छ । आव २०७७/७८मा झण्डै दुई प्रतिशत बराबरको चुहावट बढेको छ । यस आधारमा कूल एक अर्ब ४० करोड बराबरको नोक्सानी भएको छ । आव २०७७र७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत थियो । जुन आव २०७६/७७ को तुलनामा १.९१ प्रतिशतले बढी हो ।

विद्युत् खपतमा भएको वृद्घि, कोभिड–१९ का कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुननसकेका कारणले चुहावटमा वृद्धि हुन गएको प्राधिकरणको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि बढाउने योजनामा आफूहरु रहेको जानकारी दिए ।  

आव २०७७/७८ मा साना विद्युत् गृहसहित प्राधिकरणका जलविद्युत् गृहबाट कूल दुई अर्ब ८१ करोड युनिट बिजुली उत्पादन भयो । आव २०७६/७७ मा उत्पादन कूल तीन अर्ब दुई करोड युनिट उत्पादन भएको थियो । आव २०७६/७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आव मा ८.३६ प्रतिशतले बढ्न गई तीन अर्ब २४ करोड युनिट प्राप्त भएको थियो ।  

यस्तै, आव २०७६/७७ मा भारतबाट रु एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेकाले गत आवमा ६३.४५ प्रतिशत बढी अर्थात् दुई अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको प्राधिकरणले जनाएको छ ।

गत आवमा प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत् उपलब्ध भएको तथ्याङ्क थियो । जुन, आव २०७६/७७ मा ७ अर्ब ७४ करोड १० लाख युनिटको तुलनामा १४.६८ प्रतिशत बढी होे । कूल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत छ भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युत्को योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत छ । आव २०७७/७८ मा कुल विद्युत् खपत ७ अर्ब ३१ करोड ९० लाख युनिट रहेको छ । जुन आव २०७६/७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढी हो ।

७१ अर्ब आम्दानी, ६८ अर्ब खर्च

प्राधिकरणले आव २०७७/७८ मा बिजुली बिक्री गरेर ७१ अर्ब २८ करोड आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा सो आवमा बिजुली बिक्रीको आम्दानी घटेको देखिन्छ । आव २०७६/७७ मा कूn ७६ अर्ब ३१ करोड बराबरको बिजुली बिक्रीबाट आम्दानी भएको थियो ।  

यस्तै, सञ्चालन खर्चमा समेत १०.९६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा ६१ अर्ब ८७ करोड बराबरको सञ्चालन खर्च भएकामा आव २०७७/७८ मा ६८ अर्ब ४५ करोड पुगेको छ ।

नाफा घट्यो

प्राधिकरणले पछिल्लो एक वर्ष विशेष ध्यान दिन नसक्दा सञ्चालन मुनाफा घटेको छ । आव २०७६/७७ मा रु ११ अर्ब ६८ करोड नाफा गरेको प्राधिकरणले आव २०७७/७८ मा मात्रै तीन अर्ब ५१ करोड मात्रै भएको छ ।

लगातार नाफामा गएको प्राधिकरणले पछिल्लो एक वर्षमा प्रभावकारी काम गर्न नसक्दा मुनाफामा कमी आएको भन्दै आलोचना भएको छ ।

कार्यकारी निर्देशक घिसिङले संस्थागत सुशासन कामय गर्ने, चुहावट नियन्त्रण तथा अन्य सुधारात्मक काम अगाडि बढाएर चालु आवमा प्राधिकरणको नाफामा उल्लेख्य वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो पनि