जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाले युवा गाउँ फर्केपछि सुदूरपश्चिमका बाँझा खेतमा अन्नबाली !

नेपाल फ्ल्यास
असार १७, २०७८

ADVERTISEMENT

डोटी । विगतदेखि बाँझो रहेका जमिनमा पनि यस वर्ष धानलगायतका खेती गरिएको छ । अन्य वर्षको तुलनामा यो वर्ष जिल्लामा धान रोपाइँ बढी भएको छ ।

डोटीमा यो वर्ष समयमै मनसुन सुरु भएका कारण ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

कोरोना महामारीका कारण सहरबाट घर आएका युवा गाउँमै रहेका कारण बाँझो जमिनमा रोपाइँ गरिएको छ । धान रोपाइँ तथा मकैलगायतका खेती गरिएपछि यहाँका खेत तथा डाँडाकाँडा हरियाली देखिन थालेका छन् ।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका अनुसार जिल्लामा कुल दश हजार ७१५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएकोमा हालसम्म कुल चार हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

यहाँका उच्च पहाडी र पहाडी क्षेत्रमा धान रोपाइँ छिट्टै भएको निर्देशनालयले जनाएको छ । ग्रामीण क्षेत्रमा धान रोपाइँ करिब सकिएको छ भने पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, घोलतडालगायतका क्षेत्रमा रोपाइँ चलिरहेको छ ।

प्रदेशका अन्य आठ जिल्लाहरू कैलालीमा ५५, कञ्चनपुरमा ३५, अछाममा ४५ बाजुरामा ५५, बझाङमा ४५, बैतडीमा ४५, दार्चुलामा ६२, डडेलधुरामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशभरिका कुल एक लाख ८५ हजार ८४७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ । यो प्रदेशमा हालसम्म ५८ हजार ३६८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको बताइएको छ । सुदूरपश्चिम प्रदेशको धान उत्पादन हुने क्षेत्रफलको ४५.९५ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष असार १५ अघि नै प्रदेशभरिमा ४५.९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए । उनले यो वर्ष राम्रो धान उत्पादन हुने लक्ष्य लिइएको जानकारी दिए ।

यही असार १० गतेसम्म भएको रोपाइँको तुलनामा सुदूरपश्चिम प्रदेशमा यो वर्ष ८.४१ प्रतिशतले बढी भएको बताइएको छ । नेपालमा दुई जिल्लामा बाहेक अन्य सबै जिल्लामा धान उत्पादन हुने गरेको छ ।

नेपालमा कुल १३० जातका धान उत्पादन हुँदै आएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा नौवटै जिल्लाका किसानले प्राय गरी मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपाली धान लगाउँदै आएका छन् । यहाँको प्रसिद्ध धान जोरायले बासमती डोटीको जोरायल क्षेत्रमा मात्रै लगाउने र उत्पादन हुने गरेको छ । यहाँका विभिन्न जिल्लामा अझै पनि धान रोपाइँ सुरु भइरहेकाले धान रोपाइँ प्रतिशत अझै बढ्ने निर्देशनालयको दाबी छ ।

जिल्लामा असारको पहिलो सातादेखि साउनको अन्तिम सातासम्म रोपाइँ हुन्छ । रोपाइँको चहलपहलले गर्दा यहाँका गाउँघर निकै रमाइला भएका छन् । जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल निकै बढेको बडिकेदार गाउँपालिका–१ का किसान दानबहादुर कललेले बताए ।

यो पनि