बैशाख १३, २०८१, बिहीबार
               

अब नेपालमै लिक्विड अक्सिजन उत्पादन हुने

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

कोभिडको महामारीको समयमा मुलुकले चरम अक्सिजन अभाव झेल्नुपरेको यथार्थबीच नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्ट निर्माण सुरु भएको छ ।

शंकर अक्सिजन ग्यास प्रालिले रुपन्देहीको रोहिणी गाउँपालिका ४, सेमरहवामा प्लान्ट निर्माण सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भर्चुअल माध्यमबाट प्लान्टको शिलान्यास गरेका हुन् । उद्योग एक अर्ब रुपैयाँको लागतमा बन्न लागेको हो ।

प्लान्टबाट दैनिक ६० टन लिक्विड अक्सिजन र एक टन नाइट्रोजन ग्यास उत्पादन गर्न सकिने जनाइएको छ । यसले नेपालमा अक्सिजनको अभाव धेरै हदसम्म कम गर्ने अपेक्षा छ । लागत, ढुवानी लगायतको खर्चमा कमी हुने भएकाले सिलिन्डरको अक्सिजन ग्यासभन्दा लिक्विड अक्सिजन सस्तो पर्दछ ।

अक्सिजन अभाव भएका बेलामा केही ठूला अस्पतालले लिक्विड अक्सिजन ट्याङ्की जडान गरे पनि त्यो अझै पर्याप्त छैन । शंकर ग्यास प्रालिका प्रबन्ध निर्देशक शंकर अग्रवालले सरकारले नेपालमै अक्सिजन उत्पादनका लागि गरेको आग्रहअनुसार काम गर्न पाएको खुसी व्यक्त गरेका छन् ।

यो प्रालिसँग अक्सिजन उत्पादनको पुरानो अनुभव पनि छ । प्रालिले २०६० सालमा काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा एक क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरेर अक्सिजन उत्पादन सुरु गरेको थियो । माग बढ्दै गएपछि सोही स्थानमा २५० क्युबिक मिटर प्रतिघण्टा र ८० क्युबिक मिटर प्रतिघण्टा समेत गरी जम्मा ४३० क्युबिक मिटर क्षमताको प्लान्ट जडान गरिएको थियो । त्यसपछि २०७१ सालमा रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि २५० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरी सेवा प्रदान गर्दै आएको थियो ।

अब शंकर ग्यासले नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्टको सुरुवात गर्न लागेको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अक्सिजनमा आत्मनिर्भर बन्न सराहनीय प्रयास भएको बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि