बैशाख १३, २०८१, बिहीबार
               

कसरी धान्ने महँगी ? कुखुराको अण्डाको मूल्य पनि हालसम्मकै उच्च

रासस
बैशाख २१, २०७८

ADVERTISEMENT

चितवन । उत्पादनका आधारमा पहिलो स्थानमा रहेको चितवनमा कुखुराको अण्डा मूल्य हालसम्मकै उच्च भएको छ । चितवनमा मूल्य बढेसँगै मुलुकभर अण्डा महँगो हुने देखिएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीले जानकारी दिएका छन् । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने उनको भनाइ छ ।

उनका अनुसार मङ्गलवारदेखि फार्ममा ठुलो अण्डा प्रतिक्रेट (३० वटाको) ३ सय ७० र मिडियमको ३ सय ४० रुपैयाँ पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि गरिएको हो । ओलीका अनुसार चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३ सय ६५ पुगेको थियो । दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य ३ सय ६० रुपैयाँसम्म पुगेको थियो ।

एच ९ र रानीखेत रोगका कारण झन्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन् । ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आए पनि रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ । अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकिने उनको भनाइ छ ।

सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य ११.५३ रुपैयाँ तय गरे पनि हाल लागत मूल्य बढेका कारण १२.३३ रुपैयाँ हाराहारी पर्न जाने जानकारी दिए । दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ ।

नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेलका अनुसार यसअघि प्रतिकिलो ६४ रुपैयाँ पर्ने सामान्य भटमासको मूल्य बढेर १ सय ८ रुपैयाँ पुगेको छ । त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी ७० रुपैयाँबाट बढेर १ सय १५ रुपैयाँ पुगेको छ । तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो ७ रुपैयाँका दरले बढेको छ । साथै उनले दानामा प्रयोग गरिने भिटामिनलगायतका सामग्रीमा शतप्रतिशतसम्म मूल्य बढेको जानकारी दाबी गरे ।

यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनाइ छ । लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक पटक गरी प्रतिकिलो ७ रुपैयाँ मात्रै मूल्य बढेको उनको भनाइ छ । हाल लेयर्स दानाको मूल्य ६० रुपैयाँ प्रतिकिलो पर्न आउँछ ।

देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले नै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए । नेपालमा २ हजार ७ सय किसानले लेयर्स कुखुरा पाल्दै आएका छन् । ती फार्मले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको व्यवसायी बताउँछन् । नेपालमा कुखुरा पालन क्षेत्रमा झन्डै १ खर्ब २५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीहरूको दाबी छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि