बैशाख २१, २०८१, शुक्रबार
               

उखु किसानलाई सात दिनभित्र भुक्तानी दिन निर्देशन

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

 संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिनभित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिनभित्र भुक्तानी गराउने काम सम्पन्न गरी सोको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिए । उखु कृषकहरुको भुक्तानी ७ दिनभित्र उद्योग मन्त्रालयले उखु कृषकलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरणसहित अर्को हप्ता समितिलाई जानकारी गराउन निर्देशन दिएको श्रीवास्तवले जानकारी दिए ।

त्यसैगरी, समितिको बैठकले देशभरका श्रमिकले पारिश्रमिक पाए/नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिनभित्रमा समितिमा प्रतिवेदन पेस गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

माइतीघरमा प्रदर्शन गरिरहेका किसानले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानले आन्दोलन जारी राखेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानले बताएका छन् ।

मन्त्रालयले गत वर्ष पुस १८ गते माघ ७ गतेभित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तर, उद्योगीहरुले एक वर्षसम्म पैसा नदिएपछि काठमाडौं आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानले बताएका छन् । उनीहरुको भुक्तानीको विश्वसनीय पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि