साताको पहिलो कारोबार दिन आइतबार बैंकिङ्ग समुहमा लगानीकर्ताको आकर्षण बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि ०.६४ प्रतिशतले बढेको छ ।
आइतबार कारोबारमा आएका १२ उपसमुहमध्ये बैंकिङ्ग, विकास बैंक र अन्य उपसमूहको सूचक बाहेक अन्य सबै उपसमुहको सूचक नकारात्मक देखिएका छन्। केहि दिन अघि सम्म ब्यापार, उत्पादनमुलक, निर्जीवन बीमा उपसमूहको उपसूचक उच्च रुपले बढ्दै आएकोमा आइतबार लगानीकर्ताले प्रोफिट बुक गर्दा यी उपसमूहको सूचकमा सामान्य गिराबट देखिएको छ ।
यस दिन नेप्से सूचक ०.२६ प्रतिशत अर्थात ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा पुगेको छ। सेन्सेटिभ सूचक पनि २ अंकले बढेर ३४५.०७ विन्दुमा पुगेको छ । आइतबार २०१ वटा कम्पनीको १ करोड ६० लाख कित्ता शेयर ६ अर्ब ९० करोड रुपैयाँमा खरिद बिक्री भयो ।
आइतबार बजार खुलेको केहि समयमानै सूचक बढेर १८०० विन्दु माथि पुगेको भए पनि अन्तिम समयमा बिक्री चाप बढ्दा सूचक पून १८०० विन्दु तल झरेको छ। तर कारोबार रकम निरन्तर बढ्दै जानुले लगानीकर्ता शेयरबजारप्रति आकर्षित छन भन्ने बुझिन्छ ।
यस दिन सिटिजन म्युचुअल फण्डको इकाइमुल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको शेयरमूल्य ९.२१ प्रतिशत, प्रभु बैंकको ६.७१ प्रतिशत, नविल बैंकको ६.६३ प्रतिशत र अजोड इन्स्योरेन्सको ४.८० प्रतिशतले बढेको छ ।
यस दिन माउन्टेन हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै ८.९३ प्रतिशतले घटेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनको ६.०९ प्रतिशत, पोखरा फाइनान्सको ६.०७ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ५.५२ प्रतिशतले घटेको छ ।