मंसिर ०७, २०८१, शुक्रबार
               

रिघाका घरघरमा खानेपानी

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

गलकोट । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका स्थानीय बासिन्दा वर्षौको सकस र सास्तीबाट मुक्त भएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराबाट ‘एक घर, एक धारा’को आयोजना परेपछि घरघरमा धारा निर्माण गरिएको छ ।  गत आर्थिक वर्ष २०७५–७६ बाट सञ्चालित सो आयोजना दुई वर्षमा सक्ने गरी अघि बढाइएको थियो । तीव्ररुपमा काम अघि बढाएको समयमा विश्वव्यापीरुपमा कोरानो भाइरसको महामारीले गर्दा केही काम सम्पन्न गर्न बाँकी छ । 

कूल ३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुन लागेको आयोजनामा हालसम्म झण्डै करोड रकम भुक्तानी भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराले जनाएको छ । पाँच हजारदेखि २५ हजार घन लिटरसम्मका ११ वटा रिजर्भ ट्यांकीमा  कूल १ लाख १५ हजार घनलिटर पानी अट्ने क्षमता छ ।

गाउँमा सञ्चालित झारसाँधी–मजुवा–अर्ले–मनेवापाटा खानेपानी आयोजनाबाट रिघाका १६० घरधुरी लाभान्वित भएका हुन् ।  साबिक रिघा गाविसको वडा नम्बर ३, ६, ७ र ८ का स्थानीयवासी एवम् एउटा विद्यालयका लागिसमेत गरी विभिन्न क्षेत्रमा ११ वटा ट्याङकी निर्माणाधिन अवस्थामा छन् । हालसम्म चार वटा ट्यांकीबाट खानेपानी वितरण गरिसकिएको छ भने ७ वटा ट्यांकीको काम बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।

यहाँ पहिले एउटै टोलका दशदेखि ३० वटा घरधुरीले एउटै धारामा पानी खादै आएकोमा अहिले एक घर, एक धारा निर्माण गरी घर घरमै खानेपानी पुर्याइएको छ । सुख्यायामका बेलामा खानेपानीको मुल सुक्दा सार्वजनिक धारामा एक गाग्री पानी भर्न सास्ती हुने गरेको तर अहिले खानेपानीको व्यवस्थापन भएपछि घरमै पानी भर्न पाउँदा गलकोट नगरपालिका–११ रिघा मजुवाकी भिमा घर्तीले खुशी व्यक्त गरिन् ।

अहिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गरेपछि सुख्यायाममा स्रोत सुक्दा खानेपानीको जोहो गर्न मुस्किल हुँदै आएकोमा अब यो समस्याको समाधान भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत जनश्रमदानमा निर्माण गर्न लागिएको आयोजनाको पाइप लाइन विस्तार, ट्यांकी निर्माण र धारा जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । मजुवाका स्थानीयवासी तथा उपभोक्ता समितिका सदस्य दिलबहादुर थापाले खानेपानीको समस्याबाट सदाका लागि मुक्त भएको बताए । 

विश्वभर फैलिएको कोरोना भाइरस महामारीले गर्दा तोकिएको समयभित्र खानेपानी निर्माण कार्य सम्पन्न गर्न नसके पनि अहिले निर्माण सम्पन्नको अवस्थामा पुगेको झारसाँधी–मजुवा–अर्ले–मनेवापाटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम नेपालीले बताए ।

लामो समयसम्म एक गाग्री खानेपानीका लागि घण्टौ कुर्नुपर्ने समस्या भोगेका स्थानीयवासी भने घरघरमा जडान गरिएका धाराबाट पानी आउन थालेपछि हर्षित बनेका छन् ।


कस्तो लाग्यो ?

यो पनि