जेठ ०२, २०८१, बुधबार
               

एउटै गाउँमा सात करोडको तरकारी

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

दैलेखको नारायण नगरपालिका–२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् ।

यहाँका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका हुन् । व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती सुरु गरेका जाहरकोटका किसान चन्द्रबहादुर थापाले तरकारी खेतीबाटै वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्छन् । उनले २० रोपनी जग्गामा गरेको तरकारी खेतीको आम्दानीले दुई छोरालाई सबइञ्जिनीयर पढाएका छन् । अहिले दुबै छोरा नेपाल सरकारको जागीरे छन्  ।

त्यस्तै, नारायण नगरपालिका–२ का अध्यक्ष रेशमबहादुर थापाले पनि करिब २५ रोपनी जग्गामा गरेको व्यावसायिक तरकारी खेतीबाट वार्षिक १२ देखि १५ लाखसम्म आम्दानी गर्छन् । चन्द्रबहादुर र रेशमबहादुर मात्र होइन, यहाँका प्रायः सबै घरपरिवारले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् । सरकारी तथा अन्य पेसामा आवद्ध भएकाले पनि बिहान बेलुकाको समयलाई सदुपयोग गर्दै तरकारी उत्पादनमा लागेका छन् ।

जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार जाहरकोटबाट मात्रै वार्षिक ७ करोडभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ । “यहाँबाट उत्पादित तरकारी जिल्लाबाहिर पनि जाने गरेको छ”, व्यावसायिक तरकारी खेतीमा लागेका किसान सर्वजित भण्डारीले भने, “तरकारी खेतीबाट वार्षिक १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको छ ।” आठ वर्षअघि भाडामा जग्गा लिएर तरकारी खेती शुरु गरेका भण्डारीले अहिले तरकारी लगाएको सबै जमिन खरिद गरेर आफ्नो नाममा सम्पति जोडिसकेको छ । त्यति मात्र होइन, यसैको आम्दानीले सुर्खेतमा पनि दुई वटा घडेरी जोडिसकेको उनको भनाइ छ ।

तरकारीको आम्दानीले आफ्नो जीवन नै सुखी बनाएको वडाध्यक्ष थापाको भनाइ छ । छत्तीस वर्ष शिक्षण पेसामा संलग्न हुँदा र अहिले वडाध्यक्ष हुँदा पनि आफूले तरकारी खेती निरन्तर रुपमा गरिरहेको उनले भने । यहाँको तरकारी दैलेख सदरमुकाम, सुर्खेत र नेपालगञ्जलगायत बजारमा विक्री हुने गरेको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए ।


कस्तो लाग्यो ?

यो पनि