जेठ ०१, २०८१, मंगलबार
               

लकडाउनको मारमा कुखुरापालन व्यवसाय

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

धनुषा । कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ ।

चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरू पनि बन्द भएका छन् । विगत ६ वर्षदेखि कुखुरापालन व्यवसाय गर्दै आएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका विनोद यादवले भने, “बन्दाबन्दीअघि कुखुराको बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो, बजारको पनि अभाव थिएन । बन्दाबन्दीपछि कुखुराको बिक्री ह्वातै घट्यो, बिक्रीका लागि तयारी अवस्थामा रहेका एक हजार ६०० कुखुरा विक्री भएन, यसले आाफूलाई ठूलो आर्थिक नोक्सानी भएको छ ।” उनले भने “घरमा भएको दाना सकिँदै जाँदा खरिद गर्नलाई रकमको अभाव भयो । पसलेले उधारोमा दिन पत्याएनन्, करीब ९०० वटा कुखुरा दाना नपाएर मर्‍यो ।” 

दानाको अभावमा कुखुरा धमाधम मर्न थालेपछि बाँकी कुखुरा कम मूल्यमा बिक्री गर्न बाध्य भएको र कतिपय कुखुरा त आफन्तलाई सित्तैमा पनि दिएको यादवले बताए । बन्दाबन्दीअघि जिउँदो कुखुरा घरबाटै प्रतिकेजी १८० का दरले बिक्री हुन्थ्यो । तर बन्दाबन्दीका कारण दाना नपाएर कुखुरा मरेपछि २ हजार ७०० केजी मासु नष्ट गर्नुपरेको र यसबाट आफूलाई चार लाख ८६ हजार नोक्सान भएको उनको दाबी छ । मर्नुभन्दा पहिले वितरण गरेको कुखुराबाट अनुमानित दुई लाखको व्यापार भएको यादवको भनाइ छ ।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका कनरपट्टीस्थित कृष्ण साहले सञ्चालन गरेको कृष्ण पोल्ट्री फार्ममा गएको माघ ६ गते एक हजार चला ल्याइएको थियो । फागुन अन्तिमतिर चल्ला बढेर बिक्रीका लागि तयार भयो । तर, चैतको ११ गतेदेखि शुरू भएको बन्दाबन्दीका कारण २५९ वटा कुखुरा मात्र बिक्री गर्न भ्याए, बाँकी ८४१ कुखुरा यत्तिकै खेर गयो । बन्दाबन्दीका कारण डिलरले तयार भइसकेको कुखुरा नलगेपछि प्रतिकिलो ५० मा बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । 

बन्दाबन्दीअघि साहले प्रतिकिलो १६० देखि १८० मा बिक्री गरेको कुखुरा बन्दाबन्दीपछि प्रतिकिलो ५० मा बिक्री गर्नुपरेको बताए । बन्दाबन्दीका कारण चार लाख ५४ हजारभन्दा बढी नोक्सानी भएको उनको भनाइ छ । सानो लगानीबाट कुखुरा पालेर राम्रो आम्दानी गर्न सफल यादव र साहजस्ता थुप्रै व्यवसायीहरू कोरोना भाइरसको चपेटामा परेका छन् ।

कुखुरापालक व्यवसायीका अनुसार बन्दाबन्दीअघि ३ हजारमा पाइने दानाको मूल्य बन्दाबन्दीमा चार हजारदेखि पाँच हजार ४०० सम्म पुगेको थियो ।  त्यो पनि समयमा पाउन मुश्किल छ । सानो प्रयासबाट आर्थिक स्थितिलाई सुधार गर्दै लगेका विपन्न परिवारलाई बन्दाबन्दीका कारण पुनः गरीबीको दुष्चक्रमा पर्ने जोखिम बढेको छ ।

धनुषामा करीब २०० किसान ब्रोइलर कुखुरापालनमा व्यवसायमा संलग्न छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका महासचिव जितेन्द्र महासेठले जिल्लामा प्रत्येक महिना एक लाख कुखुरा उत्पादन हुँदै आएको छ । तर, कोरोना महामारीले गर्दा दाना नपाउने र बजारसम्म लान नसक्ने समस्याका कारण व्यवसाय नै धरापमा परेको बताए ।

यो पनि