बैशाख २१, २०८१, शुक्रबार
               

अलपत्र कालीगण्डकी करिडोरको ट्र्याक ओपन सुरु

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

पर्वत । पर्वत जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन कार्य भदौ महिनाभित्रै सकिने भएको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरु भएको हो । सडक निर्मााणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्र्याक ओपन सक्ने गरी काम सुरु गरेको कालीगण्डकी करिडोर गाईघाट–मालढुङ्गा आयोजना कार्यालयले जानकारी दिएको छ । 

करिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुस्मा नगरपालिकाको अर्मादीसम्म १४ किमि सडकमध्ये झण्डै २०० मिटर मात्रै भिरमा ट्र्याक ओपनको काम बाँकी छ । अर्मादी–फलेबास खण्डमा मोदीवेणीघाट नजिक १५० मिटर र मोदीखोलाको पुलपारी फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । ‘भदौ महिनाभित्रै ट्र्याक खोलिसक्ने गरी मोदीवारि र पारिबाट काम शुरु गरेका छौँ’, निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले भने । 

विसं २०७५ जेठ २१ मा सम्पन्न गर्ने गरी विसं २०७३ असार २२ मा सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो । पछिल्लो समय कोभिड–१९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ । रैसवालका अनुसार अहिले ट्र्याक खोल्ने कुरालाई पहिलो प्राथमिकता दिइएको छ । त्यसपछि अन्य काम हुनेछ ।
 
करिडोरको पर्वतदेखि स्याङ्जाको मिर्मी खण्डमा लामो समयदेखि काम अलपत्र थियो । करिडोर कार्यालयका साइट इन्चार्ज इन्जिनीयर अर्जुन नेपालीका अनुसार पर्वतको अर्मादीदेखि स्याङ्जाको सेतीवेणीसम्मको ५३ किमिमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको सात किलोमिटरमा सडक कालोपत्रेको टेण्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ ।

रानीपानीदेखि फलेबाससम्मको २२ किमीमा स्तरोन्नतिको काम सकिएको छ भने छिट्टै कालोपत्रेका लागि टेण्डर आह्वान हुने अवस्था छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल,  प्रतिनिधिसभा सदस्य पदम गिरी र गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले आफ्नो ठाउँबाट यो सडक खण्डको स्तरोन्नति तथा बजेट विनियोजनका लागि पहल गर्दै आएका छन् । 

पछिल्लो समय पर्वतको फलेबास–अर्मादी खण्डको अलपत्र काम शुरु गर्न गण्डकी प्रदेशका मन्त्री लम्सालको विशेष पहलपछि काम थालिएको छ । पाल्पास्थित करिडोर कार्यालयका नरेन्द्र सुवेदी र अर्जुन नेपालीको सक्रियताले पनि कामलाई समयमा सम्पन्न गर्न सहयोग पुगेको स्थानीयवासीले बताएका छन । 

पाल्पास्थित करिडोर कार्यालयका प्रमुख सुवेदीका अनुसार सडकको ट्र्याक खुलेपछि पर्वतको मालढुङ्गादेखि स्याङ्जाको मिर्मीसम्म ५३ किलोमिटरमा सोझै यातायात चल्नका लागि मार्ग प्रशस्त हुनेछ । यो आर्थिक वर्षभित्र मोदी, लमाय, सेती र आँधीखोलाका निर्माणाधीन पुल सम्पन्न गरी अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ । ‘कोभिड–१९ को नकारात्मक प्रभाव परेन भने यो वर्षभित्र अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात चलाउन सक्छौँ’, आयोजना प्रमुख सुवेदीले भने, ‘यो खण्डमा सडक स्तरोन्नतिको काम पनि सम्पन्न गर्ने योजनासहित अघि बढेका छौँ । 


कस्तो लाग्यो ?

यो पनि