जेठ ०८, २०८१, मंगलबार
               

माछा बिक्री नभएपछि व्यवसायी मर्कामा

रासस
बैशाख २९, २०७७

ADVERTISEMENT

गुलरिया । बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । किसानले लकडाउनका कारण उत्पादन भएका माछा बिक्री पाएका छैनन् । तिनले माछापालनका लागि बनाइएका पोखरी सफाइ र  मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् । चैत र वैशाख  पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्ने समय हो ।

सरकारले कोभिड– १९ संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण माछापालक किसान समस्यामा परेका हुन् ।  करीब एक हजार क्विन्टल माछा नै बिक्री गर्न नभएर पोखरीमै छन् । लकडाउनका कारण माछा बिक्री हुने होटेल र  रेष्टुरेन्ट बन्द रहेको र  हाटबजारसमेत नचलेपछि माछा पोखरीमै  छन् ।

बिक्री गरिसक्नुपर्ने माछालाई दाना खुवाइरहनुपर्दा खर्च बढेको र  गोदाममा भएको दाना सकिन थालेको बढैयाताल गाउँपालका–५ का माछापालक किसान तथा माछा ब्लक समितिका अध्यक्ष भक्तराम थारुले बताए । अध्यक्ष थारुका अनुसार पोखरीमा राख्न पहुँचवालाले गाडी पास बनाएर भुरा ल्याए पनि साना किसानले पाउन सकेका छैनन् । तिनले माछाको दाना पनि ल्याउन पाएका छैनन् ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा पालन पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । सो क्षेत्रमा सात सय हेक्टर पोखरीमा ७० किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । ठाकुरबाबा नगरपालिकामा करीब एक हेक्टर र बारबर्दिया नगरपालिकामा  करीब २० बिघा पोखरीमा माछापालन भइरहेको छ । 

बढैयाताल ५ जगपुर माछापालक किसान चन्दप्रकाश लम्सालले नौ बिघा पोखरीमा व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । उनले पनि लकडाउनका कारण माछा बिक्री गर्न पाएका छैनन् ।  बर्दियाका किसानलाई माछाको भुरा र दानाका लागि रुपन्देही, कैलाली र बाँके जिल्लामा भर पर्नुपर्ने बाध्यता छ । तयार भएका माछा बिक्रीका लागि कैलाली, बाँके र सुर्खेत जिल्ला नै मुख्य बजार हुन् ।

बाह्य र आन्तरिक दुवै बजार लकडाउनले बन्द हुँदा किसान मर्कामा परेका हुन् । माछापालन प्यवसायमा राम्रै आम्दानी गर्दै आएको भए पनि लकडाउनका कारण हुर्किसकेको माछा बजारमा बिक्री नपाउँदा माछापालन किसान आनन्द गिरीलाई बैंकबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

उनले १४ कट्ठा जग्गाको पोखरीमा उत्पादन भइसकेको माछा बिक्री गर्न नपाइएको तर  दाना खुवाइरहनुपर्दा लगानी बढेको बताए । उनी माछालाई दैनिक २५ हजार रुपैयाँसम्मको दाना खुवाउँछन्  । ठाकुरबाबा नगरपालिका वडा नं ९ का माछापालन किसान नवराज रिजालले सात बिघा पोखरीमा माछापालन गरेका छन् ।

लकडाउन आगामी असार महिनासम्म नखुले उत्पादन भइसकेका माछा बिक्री गर्न नपाई ७० लाख रुपैयाँसम्मको आर्थिक जोखिम उठाउनुपर्ने अवस्था रहेको किसान रिजालले बताए । बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले माछापालन किसानले भोगिरहेको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि