जेठ ०८, २०८१, मंगलबार
               

दशैँअघि सौराहाका होटल नखुल्ने

रासस
बैशाख २१, २०७७

ADVERTISEMENT

लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरू दशैँमा मात्र खोल्ने तयारी गरिएको छ ।
 
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरू सहमत भएका छन् । उनले भने, “लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन् ।” होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उहाँले जानकारी दिए ।
 
सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार जेठको पहिलो साताबाट भदौ अन्तिमसम्मको समय अरु बेलामा पनि पर्यटक नआउने समय हो । त्यसपछिको समयमा हिमाल चढ्नका लागि विदेशी पर्यटक आउने भए पनि यस वर्ष त्यो सम्भावना न्यून रहेको घिमिरेले बताए।

उनका अनुसार दशैँताका आन्तरिक पर्यटक आउने भएकाले सोही समयमा होटल खोल्ने तयारी गरिएको छ । दुई–चार पाहुनाका लागि होटल खोल्दा सञ्चालन खर्च बढी हुने भएकाले त्यो सम्भावना नरहेको घिमिरे बताउँछन् । 
 
चितवन र नवलपरासीमा १५० पर्यटकीय होटल छन् । ती होटलमा पाँच हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन् । भट्टराईका अनुसार ती होटलमा रु १९ अर्ब ५० करोडभन्दा बढी बैंकिङ ऋण रहेको छ । होटल खुलेको कम्तीमा एक वर्ष ऋणको किस्ता र ब्याज बुझाउन नसकिने भन्दै उनले पुनः कर्जा दिएर व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताए । 

यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु, थारू संस्कृति, डुङ्गा शयरका लागि स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि