मंसिर ०१, २०८१, शनिबार
               

झाडी फाँडेर मकै, बाँझो जमीनमा केराका बोट

रासस
बैशाख १५, २०७७

ADVERTISEMENT

बाग्लुङ । बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउन सुशुरु भएपछि घर फर्किए । बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उहाँ १० वर्षयता यतिका धेरै समय बस्ने गरी गएको यो पहिलोपटक हो । घर छोडेर बजारमा बस्न थालेपछि उनको घरछेउको बारी कोतर्ने कोही थिएनन् । 

न त घरमा खेती गरेर खानसक्ने कोही बस्थे । राजु बजार झरेसँगै घर छेउको बारी बाँझियो, जङ्गली जनावरको बासस्थानजस्तै रूप झाडीले बदल्यो । लकडाउनको पालना गर्न घर पुगेका उनले सात वर्षपछि अहिले बारी खनजोत गरे । झाडीमा बदलिएको बारीले लकडाउनकै कारण सुसार पायो ।

घर छेउमा रहेको सात रोपनी बारीमा उनले मकै लगाए । ‘घर बस्न नपाएर बाँझिएको बारीमा चितुवा नै बस्छ जस्तो थियो’, हमालले भने, ‘यसपालि फुर्सदमा घर बसियो, सबै फाँडेर मकै लगाएँ ।’ उनले अब बारी बाँझो नराख्ने सोच बनाएका छन् । झाडीले पुरेको बारी खनजोत नभएकै कारण अनकन्टार बन्दै थियो । प्रविधिले उनलाई साथ दियो र मिनिपावर ट्रिलरले बारी जोते । ‘गोरु नपाइने, जोत्ने मान्छे पनि नहुने’, उनले भने, ‘अब त मेशिनले जोतेरै भए पनि खेती गर्छु ।’ 

हमालले जस्तै बागलुङका धेरै गाउँमा युवाले लकडाउनको समयको सदुपयोग गर्दै बाँझो जोतेर खेती गर्न थालेका छन् । जिल्लाकै जैमिनी नगरपालिका–१ कुश्मीशेरामा लकडाउनकै समयमा एक हजार केराका बिरुवा लगाइएको छ । 

केरा पकेट क्षेत्र घोषण भएको वडामा रहेका बाँझो खेतबारीमा केराका बिरुवा लगाइएको हो । लकडाउनमा बाहिरबाट गाउँ फर्केका युवाले केरा लगाउन घरमा भएका आफन्तलाई सघाइरहेका छन् । पकेट क्षेत्र भएकाले केराका बिरुवा त रोपिन्थे नै तर लकडाउनमा घर फर्केका युवाका कारण खाडल बनाउने, मलदिने र बिरुवा लगाउने काममा सहज भएको स्थानीय किसान भीम शर्माले बताए । 

जैमिनीमा केराका बिरुवा लगाउनका लागि कृषि प्राविधिक पनि खटिएका छन् । ‘लकडाउनको पालना गर्दै कृषि कर्म गर्न सकिन्छ भनेर सबै किसानालाई उत्साहित बनाइरहेका छौँ’, नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले भने, “हामीले बारीमै पुगेर सल्लाह दिएका छौँ, उहाँहरु सामाजिक दूरी कायम राखेर काम गरिरहनु भएको छ । 

बाँझो रहेको जमीन र खाद्यान्न बाली कम उत्पादन हुने क्षेत्रमा केरा बाली लगाउन सल्लाह दिइएको शर्माले बताए । साविकको कुश्मीशेरा गाविसका वडा नं १, २, ३ का किसानले धान फल्ने खेतमा समेत केरा लगाएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि