जेठ ०८, २०८१, मंगलबार
               

इँटा उद्योगमा एक करोडबराबरको क्षति

रासस
बैशाख १४, २०७७

ADVERTISEMENT

पटक–पटक परेको वर्षाका कारण कपिलवस्तुमा रहेका इँटा उद्योगमा एक करोडभन्दा बढीको क्षति भएको छ । भट्टीमा पोल्ने तयारी अवस्थामा रहेका २०–३० लाख काँचो इँटा बिग्रिएको  इँटा उद्योगीहरूले जनाएका छन् ।

इँटा उद्योगमा लडकाउनका कारण श्रमिक काममा नभएको तथा उत्पादित इँटा पनि करिब एक महिनादेखि बिक्री नहुँदा उद्योगी चिन्तित छन् । सवारी साधन सञ्चालन हुन नसकेका कारण जिल्लाभर ७३ इँटा उद्योगमा बिक्री शून्य भएको  त्रिशक्ति इँटा उद्योगका इञ्चार्ज हेम उचईले जानकारी दिए । 

 बुद्धभूमि नगरपालिका–८ स्थित सेभेन स्टार इँटा उद्योगमा करिब रु ३० लाख बढी क्षति भएको कपिलवस्तु इँटा उद्योग संघका महसचिव कृष्ण सापकोटाले जानकारी दिए । मजदुरलाई आफूले काँचो इँटाको प्रतिगोटाका आधारमा पैसा तिर्नुपर्ने बाध्यता भएकाले नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सापकोटाले गुनासो गरे । उत्पादित इँटा बिक्री नभएको र  वित्तीय संस्थाबाट ल्याइएको कर्जा र ब्याज तिर्नसमेत धौधौ भएको इँटा व्यवसायी डम्बर शर्माले बताए । 

इँटा बनाएर परिवार चलाउँदै आएका मजदुरलाई समेत यसको मार परेको छ । भट्टामै इँटा बनाएर घरखर्च जोहो गर्ने र आफ्नो कमाइले नौं जनाको परिवार पाल्दै आएका पिन्टु चौधरी  बन्दाबन्दीले आफूहरूलाई समस्यामा पारेको बताउँछन्  । 

नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष सफर अलि मियाँले भट्टामा आश्रित मजदुरलाई रोजीरोटीको व्यवस्था गर्नसमेत मुस्किलपर्दै गएको बताए। 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि