जेठ ०८, २०८१, मंगलबार
               

विश्वव्यापी रुपमा विप्रेषण आप्रवाह २० प्रतिशत घट्ने

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं ।विश्व बैंकले कोरोना भाइरसको संक्रमण हुने डरका कारण लकडाउन भएपछि विप्रेषण आप्रवाहमा २० प्रतिशतले कमी आउने बताएको छ । 
बैंकको अध्ययनले लकडाउनका कारण विश्वभर नै श्रमिकको काम प्रभावित भएका कारण उनीहरुले पठाउने विप्रेषणमा समेत समस्या देखिने बताएको छ । 

विश्व बैंकले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्ताे बताएको हाे । उसले सार्वजनिक गरेको प्रतिवेदनमा आप्रवासी कामदार रहेका रोजगारदाता देशसमेत कोभिड–१९ को संक्रमणविरुद्ध लडिरहेको, बेरोजगारी बढेको तथा सम्पूर्ण रूपमा आर्थिक गतिविधिसमेत बन्द भएका कारण त्यसको मारमा रोजगारीमा रहेका र रोजगार दिने देश तथा कम्पनी परेकाले विप्रेषणमा ठूलो गिरावट आउन लागेको जनाइएको छ । 

अध्ययनअनुसार विप्रेषणको आप्रवाहमा कमी आउँदा गरिबी बढ्ने र विशेषगरी त्यसको सबैभन्दा बढी मार कम तथा मध्यम आय भएका मुलुकमा पर्नेछ । त्यसले खाद्य संकट तथा जीवनयापनका लागि समेत थप कष्टकर बनाउनेछ । 

विप्रेषण विकासिल तथा विकासोन्मुख देशका लागि प्रमुख आयस्रोत हो । बैंकका अनुसार दक्षिण एसियामा कोभिड–१९ का कारण २२.१ प्रतिशतले विप्रेषण आप्रवाहमा कमी आउने देखिएको छ । यूरोप तथा मध्य एशियामा २७.५ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबियन देशहरुमा १९.३ प्रतिशत र पूर्वी तथा एशिया प्रशान्त क्षेत्रमा १३ प्रतिशतले ह्रास आउने देखिएको छ ।

अध्ययनले नेपालका झन्डै ४० लाख कामदार वैदेशिक रोजगारीमा रहेको देखाएको छ । कोभिड–१९ का कारण नेपाली कामदार रहेका खाडी मुलुक, मलेसिया, दक्षिण कोरियालगायत देशमा पनि लकडाउन जारी रहेका कारण विप्रेषण आप्रवाहमा झन्डै  एक खर्बले गिरावट आउने अध्ययनले देखाएको छ । 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा पाँच खर्ब ९२ अर्ब बराबरको विप्रेषण आप्रवाह जनाएको छ । 

नेपालको अर्थतन्त्रका प्रत्यक्ष  प्रभाव पार्ने विप्रेषण आयातमा सबैभन्दा बढी समस्या आउने राष्ट्र बैंकको विश्लेषण छ । 

बैंकले आर्थिक वर्ष २०७५ र ७६ मा कुल आठ खर्ब ८९ अर्ब विप्रेषण आयात भएकोमा चालू आवमा कोरोनाका कारण आठ खर्ब पनि नपुग्ने अवस्था सिर्जना भएको जनाएको छ । 

नेपाली कामदार बढिरहेका कतार, साउदी अरब, कुवेतजस्ता देशमा कोरोनाका कारण पछिल्ला दिनमा काम बन्द भएको र कामदार कामविहीन हुन पुगेका छन् । जसका कारण देशभित्र विप्रेषण पठाउन सक्ने अवस्थामा रहेका  छैन । 

चालू आवको अन्त्यसम्म नौ खर्बबराबरको विप्रेषण भित्रने अनुमान गरिए पनि कोरोना प्रभावले ठूलो प्रभाव पार्ने देखिन्छ ।

सामान्य अवस्था रहेको भए विप्रेषण आयमा पाँच प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो । सम्बन्धित मुलुकमा कामदारले पुनः काम गर्न पाएको खण्डमा आगामी असार मसान्तसम्म केही सुधार हुन सक्ने अनुमान भने गर्न सकिन्छ । 

गत आवमा सरकारले केही नीतिगत सुधार गरी हुन्डी कारोबारलाई निरत्साहित गरेको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाले निक्षेपको 
ब्याजदरमा नै उल्लेख्य वृद्धि गरेका कारण पनि विदेशमा नै राखिएको पैसा स्वदेश पठाएका थिए ।

गत फागुन मसान्तसम्म  विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई पाँच खर्ब पाँच सय ९२ अर्ब ४२ करोड भएको थियो ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेको थियो । 

आठ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.४ प्रतिशतले वृद्धि भई रु ६ खर्ब ७१ अर्ब ८९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.९ प्रतिशतले बढेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि