जेठ ०५, २०८१, शनिबार
               

लकडाउनभर विद्युत महसुलमा जरिवाना नलाग्ने

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ ।

निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउए । कार्यकारी निर्देशक घिसिङले लक डाउन अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुने प्रस्ट पारेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अर्थतन्त्रमासमेत गम्भीर असर परेकोबेला मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरूलाई विद्युत् महसुल तथा विलम्बबापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो । मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘लकडाउनको विषम परिस्थितिका कारण सिङ्गल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सकिरहेका छैनौँ, ग्राहकहरूले अघिल्लो महिनामा तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय सङ्कलन गर्न स्वीकृति प्राप्त विभिन्न आठ वटा अनलाइन सेवा प्रदायकमार्फत भुक्तानी गर्न सक्नुहुन्छ । लकडाउन खुल्ला भएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नु भएको रकममा समायोजन गरिने छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणले चैत र वैशाखको महसुल आगामी ६ जेठभित्रमा भुक्तानी गरेमा २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा विलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो ।

प्राधिकरणले वर्तमान अवस्थामा ग्राहकको घरघरमा गई मिटर रिडिङ गर्न सक्ने अवस्था नरहेकोले सिङ्गल फेज ग्राहकहरूको चैत र वैशाखको विल फागुनको विलअनुसार नै गर्नेछ भने थ्री फेज मिटर जडान भएको ग्राहकको हकमा सम्भव भएसम्म मिटर रिडिङ गरेर वास्तविक विल गर्नेछ । सिङ्गल फेज ग्राहकहरूको यी महिनाहरूको विल पछि वास्तविक रिडिङ गर्दा फरक पर्न गएमा सोहीअनुसार विलमा मिलान गरिने छ ।

मन्त्रिपरिषद्को निर्णयकाआधारमा प्राधिकरणले ग्राहस्थ (सामुदायिक समेत) वर्गका १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत र वैशाखको विलको इनर्जी शुल्क (न्युनतमशुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । चैत महिनाको यस्तो छुट रकम विल नतिरेको ग्राहकको हकमा विलमा नै मिलाउने छ भने विल तिरिसकेका ग्राहकको हकमा वैशाखको विलमा मिलान गरिनेछ ।

 


कस्तो लाग्यो ?

यो पनि