बैशाख १८, २०८१, मंगलबार
               

कोरोनाबाट बच्न गाउँ पसेका युवा खेती किसानमा संलग्न

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडाैं । कोरोना भाइरसका कारण युवाशक्ति गाउँ केन्द्रित हुँदा गाउँका बेवास्ता र बेस्यार भएका बारी उपभोग्य हुँदै छन् । 

विगत २० वर्षदेखि काठमाडौैको गोंगबुमा होटेल व्यवसाय सञ्चालन गरेर बस्दै आएका  ज्यामरुककोटका दुर्गाबहादुर थापा कोरोनाको त्रासका कारण सपरिवार गाउँ फर्किएर वर्षौंदेखि बाँझिएको खेतबारीमा प्राङ्गारिक मल खरिद गरी धमाधम केरा लगाउन थालेका छन् । 

त्यस्तै, भारतको मुम्बईको पाँचतारे होटेलमा काम गर्ने बेनी नगरपालिका–२ बगरफाँटका गणेश घिमिरे गाउँ फर्किएर आफ्नै खेतीपातीमा व्यस्त छन् । 

त्यसैगरी, बेनी बजारको एउटा वित्तीय संस्थामा कार्यरत श्याम शर्माले गाउँको माटोमा पैसाको सुगन्ध भेटियो भन्दै तरकारी र फलफूल खेती विस्तार ध्याउन्नमा आफूलाई केन्द्रित भएका छन् ।

घिमिरे, थापा र शर्माजस्तै धेरै व्यक्ति अहिले सहर छोडेर गाउँमा फर्किएका छन् । कोरोना संक्रमणको आशंकामा सहरमा रहेका गाउँ फर्किएपछि गाउँले नयाँ त्राण पाएको छ । 

गाउँमा निकै चहलपहल बढेको छ । विभिन्न पेसा व्यवसाय तथा अध्ययनका लागि सहर बसेका फर्किएपछि गाउँको रूप फेरिने संकेत देखिएको छ । 

पछिल्लो समय वृद्धाश्रमजस्तो देखिने गरेको गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ । 

कोरोनाको त्रासका कारण गाउँमा फर्किएका युवायुवती खेतीमा केन्द्रित गराउँदा ग्रामीण परिवेशले मुहार फेर्ने अपेक्षा गर्न थालिएको छ । 
युवा धमाधम गाउँ फर्किएपछि अहिले गाउँको स्वरूप नै फेरिएको बेनी नगरपालिका–२ बगरफाँटका ८४ वर्षीय वेदप्रसाद शर्माले बताए । 

लकडाउनका कारण सहर बजारमा मानिस घरभित्र नै बसेका भए पनि गाउँमा भने सुरक्षित वातावरणमा धमाधम कृषि कर्म भइरहेको गाउँलेले बताएका छन् । खेतीपातीको काममा सहर र विदेशबाट आएका युवा खटेकाले अहिले गाउँका वृद्धवृद्धा, महिला र केटाकेटीले राहत महसुस गरेका छन् ।

लकडाउनको असर गाउँमा कम छ । गाउँका खेतबारीमा काम भइरहेको छ । कोही घर सिँगार्न व्यस्त छन् त कोही खेतबारीमा मल बोक्न । त्यस्तै, कोहीलाई बाली भित्र्याउने चटारो छ । 

वर्षौंदेखि बाँझो रहेका खेतबारीमा अहिले हरियाली छाएको र उत्पादनमा वृद्धि हुने लक्षण देखिएको स्थानीय कृषकले बताएका छन् ।
सहरको रमझम र सुविधामा अभ्यस्त भएका बालबालिका पनि गाउँको वातावरणमा रमाउँदै जान थालेका छन् ।

काठमाडौंबाट पहिलोपटक हजुरबुबासँग गाउँ आएका रोशन घिमिरेले मम, चाउमिन, समोसा र बजारमा पाइने अरु खाजाभन्दा गाउँमा खाइने खाजा मीठो भएको बताए । 

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाबाट बच्नका लागि गाउँ फर्किएका युवायुवती र बालबालिका अहिले गाउँको परिवेशमा रमाएका छन् । गाउँको वातावरणमा सुरक्षित र रमाइलो दुवै भएको उनीहरुको भनाइ छ । गाउँका वुद्धवृद्धाले पनि अब गाउँको दिन आउँछ कि भनेर आस गर्न थालेका छन् ।

गाउँका पुराना घर सिँगारिएको मालिका गाउँपालिका–५ देवीस्थानका रेशबहादुर बूढाले बताए । 
 

यो पनि