काठमाडौँ । विश्व बैङ्कले नेपालको आर्थिक क्षेत्रमा कोरोनाले ठुलो क्षति पुर्याउने प्रक्षेपण गरेको छ । बुधवार दिउँसो दक्षिण एसियाली राष्ट्रका जनता र समग्र आर्थिक क्षेत्रमा कोभिड १९ (कोरोना भाइरस) ले पारेको असरबारे रिपोर्ट सार्वजनिक गर्दै विश्व बैङ्कले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १.५ देखि २.८ प्रतिशतसम्ममा कायम रहने प्रक्षेपण गरेको हो । अर्थ मन्त्रालयले यो वर्षको बजेटमार्फत करिब आठ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो ।
कोरोनाले सामान्यदेखि उच्च वर्गीय सबै जनताको जीवनयापनमा असर गरेको र आर्थिक क्षेत्रका सबै पक्षलाई एउटै दरले नोक्सानी गरेका कारण नेपालसहित दक्षिण एसियाली राष्ट्रको आर्थिक वृद्धिदरमा ठुलो अन्तरले गिरावट आउने विश्व बैङ्कको अनुमान छ । सन् २०२० मा खस्केको नेपालको अर्थतन्त्र अर्को वर्ष तुरुन्तै उठ्ने कुरामा विश्व बैङ्कका विज्ञ अर्थशास्त्री सहमत छैनन् ।
उनीहरूले सन् २०२१ मा नेपालको अर्थतन्त्र झन् खस्किएर १.४ देखि २.९ प्रतिशत कायम हुने अनुमान गरेका छन् । त्यसपछिका वर्षहरूमा भने अर्थतन्त्र सबल बन्दै जाने विश्व बैकको प्रक्षेपण छ । नेपालले सन् २०१९ मा ७.१ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल गरेर दक्षिण एसियाली राष्ट्रमै सबैभन्दा तीव्र गतिमा विकास गर्ने राष्ट्र बनेको थियो तर कोरोना भाइरसले यो वृद्धिदरमा ब्रेक लगाउने भएको छ ।
विश्व बैङ्कले रिपोर्ट सार्वजनिक गर्दै भनेको छ, ‘कोभिड १९ को महामारीबाट बढिरहेको मानवीय क्षति र विश्वको आर्थिक क्षेत्रमा आएको गिरावटबीच दक्षिण एसियाली सरकारहरूले स्वास्थ्य आपतकाललाई रोकेर आफ्ना जनता तथा गरिब र कमजोर मानिसको सुरक्षाका लागि आवश्यक सुविधा प्रदान गर्न अग्रसर हुनुपर्छ । त्यसैगरी तीव्र गतिमा आर्थिक सुधार गर्नका लागि ठुला योजना तयार गर्नुपर्छ ।’
विश्व बैङ्कको यस्तो सूचनापछि नेपालको अर्थतन्त्र अनुमान भन्दा पनि बढी ओरालो लाग्ने देखिएको छ । किनभने दुई साताअघि मात्र अर्को दातृ संस्था एसियाली विकास बैङ्क (एडिबी)ले ४.३ देखि ५.३ प्रतिशतका बीच नेपालको अर्थतन्त्र रहने जनाएको थियो । एडिबीको सो प्रक्षेपणपछि अर्थ मन्त्रालयले राहतको सास फेर्दै आगामी आर्थिक वर्ष ०७७–७८ को बजेट निर्माणका लागि सुझाव सङ्कलन गर्न थालेको थियो ।
तर, आइतबार दिउँसो नेपालसहित दक्षिण एसियाली राष्ट्रको आगामी अर्थतन्त्रबारे अध्ययन गर्दै विश्व बैङ्कले नयाँ प्रक्षेपण गरेपछि सरकारी निकाय झस्किएका छन् । विश्व बैङ्कले सबै देशको पछिल्लो दुई वर्षको आर्थिक गतिविधि मूल्याङ्कन गरेर वृद्धिदरका बारेमा घोषणा गरेको जनाएको छ ।
नेपालले भूकम्प र भारतीय नाकाबन्दी गरेको वर्षमा जस्तै निराशाजनक आर्थिक वृद्धिदरको सामना गर्नुपर्ने देखिएको छ । भूकम्प गएपछि आव २०७२–७३ मा देशको आर्थिक वृद्धिदर ०.७७ प्रतिशत कायम रहने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको थियो । तर, आर्थिक वर्षको अन्त्यमा त्यो भन्दा पनि निराशाजनक स्थिति बनेको थियो ।
नेपालले अहिलेसम्म ठुलो मानवीय क्षति नबेहोरेको तथा मुलुकभित्र प्रशस्त मात्रामा औद्योगिक वातावरण नभएकाले योभन्दा ठुलो क्षति नपुग्ने विश्व बैङ्कको भनाइ छ । तर, औद्योगिक वातावरण तयार गरी आत्मनिर्भर बन्दै गएका र अन्तर्राष्ट्रिय व्यापारमा बिस्तारै सन्तुलन कायम गर्दै गएका राष्ट्रहरूलाई कोरोनाले ठुलो क्षति पुग्ने विश्व बैङ्कको अनुमान छ ।
रिपोर्टअनुसार दक्षिण एसियाली राष्ट्रमध्ये माल्दिभ्स सबैभन्दा बढी सङ्कटमा पर्नेछ । माल्दिभ्सको आर्थिक वृद्धिदर सन् २०२० मा ऋणात्मक अर्थात् (–१३.० देखि –८.५) पुग्ने विश्व बैङ्कको प्रक्षेपण छ । ऋणात्मक आर्थिक वृद्धिदरको सामना गर्ने देशहरूमा अफगानिस्तान, पाकिस्तान र श्रीलङ्का समेत छन् । सन् २०१९ मा पाकिस्तानको अर्थतन्त्र केही सुधार भएर ३.३ प्रतिशतका दरले अगाडि बढेको थियो ।
दक्षिण एसियाका सबै देशहरूको आर्थिक वृद्धिदर खुम्चिने पक्का छ । भारतमा भने कोरोनाका कारण तत्कालै असर नदेखिने रिपोर्टमा उल्लेख छ । सन् सन् २०१९ मा ६.१ प्रतिशत वृद्धिदर रहेको भारतको सन् २०२० मा आर्थिक वृद्धिदर ४.८ देखि ५ प्रतिशतसम्म हुने अनुमान छ । तर, त्यसपछिका वर्षहरूमा भने निरन्तर आर्थिक स्थिति खस्कने अनुमान छ ।