हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दानाको जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् । तर व्यवसायी भने महामारी रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का कारण उत्पन्न यो अवस्था टुलुटुलु हेरेर बस्नु बाहेकको अर्काे विकल्प पाएका छैनन् ।
दुई साताको लकडाउनले मात्र नभएर बिगत दुई वर्षयता नै कुखुरापालन व्यवसायमा देखिएको उतारचढावका कारण धेरै कृषक विस्थापित पनि भइसकेका छन् । बैंक सारेर ऋण थपेका कृषक मात्र टिकेको व्यवसायीहरूले बताउँदै आएका छन् । तर यतिखेरको यो महामारीले त झन् कति व्यवसायी र यससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका किसान विस्थापित हुने हुन् भन्ने कुराको आँकलन अहिले नै गर्न गाह्रो भएको छ । चितवन कुखुरापालन व्यवसायको प्रमुख जिल्ला हो ।
कुखुरापालक कृषक एवं व्यवसायीहरूकाे छाता संस्था नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले लकडाउन सुभएदेखि नै दैनिक कम्तीमा पनि २२ करोड ४० लाख ६० हजार यो व्यवसायमा घाटा भइरहेको बताउछन् । पोखरेलको भनाइमा चल्लामा ३ करोड ४५ लाख ७० हजार, ब्रोईलर तयारी कुखुरामा १५ करोड, अण्डामा ३ करोड ४५ लाख ९० हजार र अन्यमा ५० लाख दैनिक नोक्सान व्यहोर्नु परेको छ । “यो आजसम्मको अवस्था हो, यो लकडाउन अझै लम्बिँदै जाने हो भने यो नोक्सानीले कुन रुप लिने हो अहिले नै भन्न अझै गाह्रोछ” उनले भने ।
पोखरेल व्यवसायी टिक्नै मुस्किल हुने अवस्थामा पुगेको बताउछन् । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष समेत रहेका पोखरेलका अनुसार देशभरमा ८ वटा लेयर्स् चल्ला उत्पादन गर्ने ह्याचरी छन् । तीनले सातामा २ लाख चल्ला उत्पादन गर्दछन् । प्रतिगोटा चल्लाको लागत मूल्य ९० पर्दछ । हाल ती खोरहरूमा १ लाख माउ छन् । अमेरीका, जर्मन, हल्याण्ड र फ्रान्सबाट ल्याइएका ती माउको प्रतिगोटा १ हजार पर्ने पोखरेलले बताए ।
ब्रोईलर चल्ला उत्पादन गर्ने ३ सय २२ ह्याचरी छन् । ती ह्याचरीले सातामा ३५ लाख चल्ला उत्पादन गर्ने उनको भनाइ छ । नेपालसँगै थाईल्याण्ड, मलेसिया, फिलिपिन्स, अमेरीका, बेलायत र भातबाट ब्रोईलर प्यारेन्ट ल्याउने गरिन्छ । ती माउ पतिगोटा ६ सय ५० पर्दछ । ब्रोईलर चल्लाको लागत मूल्य ५७.४५ पैसा पर्ने पोखरेल बताउछन् ।
उनका अनुसार कोईलर र कलर ब्र्रोईलर चल्ला उत्पादन गर्ने ह्याचरी १४ वटा छन् । जसले सातामा ४ लाख चल्ला उत्पादन गर्दै आएका छन् । कलर ब्रोईलर र कोईलर भारत र युरोपबाट ल्याइएका हुन् । कलर ब्रोईलरको माउ (प्यारेन्ट) १ हजार र कोईलर तीन सयमा ल्याइएका हुन् र तिनको लागत मूल्य ४० पर्ने गर्दछ । हाल देशभरका ह्याचरीमा १ लाख ४० हजार माउ रहेका छन् ।
नेपालमा माउ (प्यारेन्ट) उत्पादन गर्ने ग्रयाण्ड प्यारेन्ट ह्याचरी २ वटा रहेका छन् । ती ह्याचरीले मासिक ७० हजार प्यारेन्ट उत्पादन गर्दछन् । पोखरेलको भनाइमा ती ह्याचरी बाहेकका सबै ह्याचरीको चल्ला खाल्डो खनेर पुर्नुपर्ने बाध्यता रहेको छ । धेरैतिर अब यस्तै गर्नुपर्ने वाध्यता पनि आइसकेको छ ।
गतवर्ष फागुन यता चल्लाको मूल्य आउन नसक्दा निकै नोक्सान बेहोर्नु परेको उनको भनाइ छ । चरल्लाको मूल्य नपाएपछि व्यवसायीहरूले १० दिन चल्ला उत्पादन बन्द समेत गरेका थिए । नेपालमा सातामा ४ लाख चल्ला उत्पादन गर्ने अबिनास ह्याचरी पनि छ । जसको ह्याचरीमा मात्र ६ अर्ब भन्दा बढी लगानी भएको जनाउदै आएको छ । गएको एक वर्षमा ह्याचरी क्षेत्रमा मात्र ३ अर्ब ६५ करोडभन्दा बढी नोक्सान भएको पोखरेलको दाबी छ ।
नेपालमा कुखुरापान क्षेत्रमा १ खर्ब २० अर्ब लगानी भएको व्यवसायीहरू बताउँछन् । जसमध्ये ह्याचरीमा मात्र २० अर्ब भन्दा बढी लगानी भएको पोखरेलको अनुमान छ ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले कृषक टिक्ने अवस्था घट्दै गएको बताए । धेरै कृषक यस अघि नै विस्थापित भइसकेको उनले बताए । अण्डा उत्पादन गर्ने कृषकले बिगत दुई वर्षयता निरन्तर घाटा व्यहोर्नु परेको छ । केसीका अनुसार अहिले कृषकले उत्पादन गरेको अण्डा भण्डारण गरेर राखिएको छ । बिकेको अण्डा प्रतिगोटा ७ मा बिक्री भएको छ । लागत मूल्य मात्र प्रतिगोटा ११. ५० पैसा भन्दा बढी पर्दछ । एउटै अण्डामा ४.५० पैसा नोक्सान छ । केही अण्डा बिक्री भएको भए पनि अन्य गोदाममै छ । गर्मी बढेकालेले अब त अण्डा नष्ट गर्नुको अर्काे विकल्प पनि नभएको उनको भनाइ छ ।
देशभरमा दुई हजार २०० भन्दाबढी कृषक प्र्रत्यक्ष रुपमा यस पेशामा संलग्न छन् । जसले १ लाख जनशक्तिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको केसीको भनाइ छ । संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल अण्डा गोदाममा थन्किएको र कुखुरालाई दाना खुवाउन कच्चा पदार्थ किन्ने पैसाको अभाव भएको बताउछन् । उनले भने “हामी त पालिन्छौ नै कुखुरा कसरी पाल्ने ।” सबै किसानका सामु चिन्ता भएको उन बताउछन् ।
अहिले पेटभर खान नपाएका कुखुराले पछि पनि राम्रो उत्पादन दिन नसक्ने कँडेलको भनाइ छ । अठारदेखि १९ हप्ताका लेयर्स कुखुराले अण्डा दिन थाल्दछन् । ती कुखुराबाट राम्रो व्यवस्थापन भएमा ८२ हप्तासम्म अण्डा लिन सकिन्छ । कँडेल अहिले लकडाउन मात्रभन्दा पनि पहिलेदेखिकै समस्याले गर्दा टिक्न गाह्रो हुदै गएको बताउनुहुन्छ । लेर्यसमा मात्र २० अर्ब भन्दाबढी लगानी भएको उनको भनाइ छ ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट सरकारले तत्काल सम्बोधन गर्न नसके नेपालको आत्मनिर्भर यो व्यवसाय विस्थापित हुने चिन्ता व्यक्त गर्छन् । अहिलेकै अवस्थामा धान्नसक्ने कोही नभएको भन्दै उनले सरकारले तत्काल अनुदान दिन सक्नुपर्ने बताए ।
बैंक ऋणको ब्याज एकवर्ष मिनाहा गर्नुपर्ने, ऋणको तिर्नुपर्ने सावा एक वर्ष सार्नुपर्ने, चालु पूँजी बराबर पुनर्कर्जा दिनुपर्ने उन बताउछन् । साना लेयर्स तथा ब्रोईलर किसानका लागि स्थलगत अनुगमन गरी विस्थापित हुन नदिन कुखुरा गोटाको आधारमा नगद सहयोग गर्नुपर्ने र दानाको कच्चा पदार्थ मकै तथा भटमासको पिनामा भन्सारमा लग्दै आएको कृषि सुधार शुल्क हटाउनुपर्ने व्यवसायीको माग छ ।
यो लकडाउन कति जान्छ भन्न नसकिने भन्दै बिष्टले यत्तिकै अवस्थामा सहयोग नपाएमा ८० प्रतिशत कृषक विस्थापित हुने त्रास रहेको बताए । त्यस अवस्थामा बाहिरका उत्पादन छिरेमा नेपालको अर्थतन्त्रमा ठूलो असर पुग्ने विष्टको भनाइ छ । अन्य पेशाजस्तो यो पेशा नभएकाले यसको मर्मलाई तत्काल बुझिदिन सम्बन्धित निकायलाई अनुरोध गर्दै आएको उनले बताए ।
नेपाल दाना उद्योग संघका पूर्वकेन्द्रीय अध्यक्ष डा तिलचन्द्र भट्टराई कुखुराले दाना नै खान नपाउने स्थिति आएको बताउछन् । अण्डा थन्किएर वसेको, ब्रोईलर कुखुरा विक्री नभएको र चल्ला मार्नुपर्ने बाध्यतामा रहेको उनको भनाइ छ । नगदमा दानाको कच्चा पदार्थ किनेर उद्यारोमा कति दिन बिक्री गर्न सक्ने उनले गुनासो गरे । कुखुरा पालन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १२ लाखले रोजगारी पाएको र नेपालको अर्थतन्त्रमा यस व्यवसायले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका भट्टराईका अनुसार पछिल्ला वर्षहरूमा चितवनभन्दा बाहिर ठूला फार्म सुभएका छन् । कुल उत्पादनको ३० प्रतिशत हाराहारी चितवनले ओगटेको उनको भनाइ छ । नेपालमा कुखुराको दानाका लागि आवश्यक पर्ने धेरै कच्चा पदार्थ बाहिरबाट आउने गर्दछ । समग्रमा ६५ प्रतिशत कच्चा पदार्थ त बाहिरैबाट आउने भट्टराईको भनाइ छ । मकै ७० प्रतिशत, भटमासको दाना र पिना ९५ प्रतिशत, औषधि ८० प्रतिशत र सूर्यमुखी पिना ४० प्रतिशत बाहिरबाट नै आउने गरेको छ ।
भट्टराईको भनाइमा गत वर्ष कच्चा पदार्थमा ४० अर्ब खर्च भएको थियो । कुखुराजन्य पदार्थ एक खर्ब ६ अर्बभन्दा बढीको बिक्री भएको तथ्याङ्क छ । यो उत्पादनस्थलकै मूल्य हो । उनका अनुसार एक दिने चल्ला सात अर्ब ५८ करोड, दाना ४५ अर्ब ७९ करोड, अण्डा १७ अर्व ९३ करोड, मासु ३४ अर्ब ९७ करोड र मल ५० करोडको बिक्री भएको थियो ।