जेठ ०८, २०८१, मंगलबार
               

आगलागीबाट पाँच घर जलेर नष्ट

रासस
चैत २३, २०७६

ADVERTISEMENT

कनकाई । झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । स्थानीय इलाका प्रहरी कार्यालयका अनुसार शनिबार बेलुकी ४ः१५ बजेबाट राईको घरबाट आगलागी सुरु भएको थियो ।

आगलागीमा परेकामध्ये झकडबहादुर भने यस अघिदेखि नै मेयर आवास क्षेत्रमा बसोबास गर्दै आएका थिए । आगलागी भएको थाहा पाएपछि दमक नगरपालिकाको दमकल साथै कनकाई सामुदायिक वनको खानेपानी ट्यांकी र स्थानीयवासीको पहलमा निभाइएको थियो । आगलागीको कारण बुझ्न नपाइए पनि धूमपान सेवन गर्नेका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै, मुग्लिन–चितवनमा पनि आगलागीबाट घर जलेर नष्ट हुदाँ दुई परिवार बिचल्लीमा परेका छन् । शनिबार बेलुका ४ बजेको समयमा चितवनको विकटमा रहेको इच्छाकमना गाउँपालिका–६ तुन्तेषमा कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको घर जलेर नष्ट भएपछि उनीहरूको परिवार बिचल्लीमा परेका हुन् ।

घरमा रहेको सोलार सर्ट भई दुईवटै घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीय यामबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार आगलागीबाट के–कति क्षति भयो यकिन नभए पनि घरमा रहेका खाद्यान्न कपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

अहिले उनीहरू छिमेकीको घरमा बसेका छन् । वडाध्यक्ष भुपेन्द्र चेपाङले पनि आगलागी भएको खबर आएको बताए । विकटमा रहेका कारण आइतबार मात्र सो स्थानमा पुगी क्षतिको विवरण संकलन गरिने उनले बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि