जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना

नेपाल फ्ल्यास
चैत २०, २०७६

ADVERTISEMENT

काठमाडौं । यस वर्षको ६३औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आज कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ ।

कोभिड–१९ को संक्रमणका कारण विश्वसँगै नेपाल पनि प्रभावित भएका बेला नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो । 

राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रको आज एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शुभारम्भ गरेकी मन्त्रालयले जनाएको छ । केन्द्रको शुभारम्भ गर्दै मन्त्री अर्यालले सहकारी सेवामूलक संस्था हो भन्ने पहिचान दिने अवसर भएको भन्दै सहकारी दिवसका दिन कोरोना उपचार केन्द्रको स्थापना गरिएको बताइन् ।

“सहकारीद्वारा सञ्चालित अस्पताललाई अधिकतम् प्रयोग गर्ने, केन्द्रीयस्तरमा कोरोना रोकथाम केन्द्र स्थापना गर्ने लक्ष्यका साथ यो अस्पताल छनोट गरिएको हो”, मन्त्री अर्यालले भनिन्, “सहकारी जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था हुन्, देश सङ्कटमा परेका बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोनाबाट नआत्तिन, सचेत रहन, सम्भावित जोखिम पहिचान गर्न जनतालाई सहयोग गर्न सक्छन् र गरिरहेका पनि छन्, त्यसैको उदाहरण यो केन्द्रको शुभारम्भ हो ।” 

कोरोनाको महामारी नियन्त्रण गर्न सहकारी अभियानको ऐक्यबद्धतामा उक्त सेन्टरको स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समितिका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् ।


कस्तो लाग्यो ?

यो पनि