जेठ ०८, २०८१, मंगलबार
               

सरकार भन्छ– ‘खाद्यान्न पसल खुला छ,’ उपभोक्ता भन्छन्– ‘सामान पाएनौँ’
लकडाउनमा खुला रहने पसलको सूची यस्तो छ

ADVERTISEMENT

काठमाडौँ । ‘ग्यास, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुहरू धेरै भण्डारण नगरौँ, विगतको भन्दा धेरै परिमाणमा आयात भइरहेको छ, कुनै समस्या भए सरकारले हेर्छ’ केही दिनअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाको यो भनाइ सञ्चारमाध्यमहरूले प्रकाशन प्रसारण गरेका थिए । यही खबर सुनेर आम नागरिकहरू पनि ढुक्क थिए । 

नेपालमा कोरोना सङ्क्रमणको थप एक जनामा देखिएको पुष्टि भएलगतै मङ्गलबारबाट एक सातासम्म मुलुक लकडाउनको घोषणा भयो । सरकारले सबैलाई घरभित्र बस्न आदेश दिएको छ । पास भएका तथा अत्यावश्यक सेवाबाहेक अरू सवारी साधन सञ्चालनमा रोक लागेको छ । 

सरकारले अत्यावश्यक बस्तुहरूको आयात भइरहेको बताएपछि आम उपभोक्ताले भने सहज रूपमा सामान किन्न पाएका छैनन् । सरकारले भने अत्यावश्यकता सेवा सञ्चालनमा रोक नलगाएको बताएको छ । तैपनि ग्यासका धेरै डिपोहरू बन्द छन् । खाद्यान्नका पसलहरूसमेत बन्द गरिएका छन् । 

लकडाउनमा पसल खोलिएको भन्दै सुरक्षाकर्मीहरुले पसल बन्द गराइरहेका छन् । यस कारण मङ्गलवार बिहान काठमाडौँमा खुलेका केही पसल पनि बन्द भए । खाद्यान्न तथा ग्यासका पसलहरू पनि बन्द हुँदा उपभोक्ताहरूले किन्न पाएनन् ।

काठमाडौँ महानगरपालिका ५ हाँडीगाँउका सरोज डङ्गोल भन्छन्  ‘यस्तो बेला भान्सामा एउटा मात्रै सिलिन्डर राख्नेहरूलाई चिन्ता छ, हामीले खाना पनि राम्रोसँग नपकाई ग्यासको जतन गरेका छौँ, तर बजारमा खाद्यान्नलगायतका सामान किन्न जाँदा समेत पसल बन्द छ, हामी जस्तै अरू थुपै मर्कामा परेका छन् ।’ 

विश्वनै कोरोनाको संक्रमणबाट संकटामा परेको समयमा सरकारको निर्णयलाई साथ आम तवरमा मिलेको छ । सर्वसाधारण उपभोक्ताहरू भने औषधि, खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तुको सहज व्यवस्था नहुँदा दुखी छन् ।

‘हामी सङ्कटको घडीमा सरकारलाई पूर्ण सहयोग गर्छौँ, आधा पेट खाएर बस्न तयार छौँ । तर दैनिक उपभोग्य बस्तुलाई केही सहज बनाउन पाए राहत हुने थियो,’ सरोजले भने । 

सरकार भन्छ– ‘खाद्यान्न पसल खुला छ’

लकडाउनको समयमा अत्यावश्यक वस्तुको पसल खोलेको सरकारको दाबी  छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थको सहज विक्री भइरहेको दाबी गरे । 

अत्यावश्यक वस्तु बिक्री गर्ने पसललाई सुरक्षा अपनाउन र बढी भिडभाड नगर्न उनको आग्रह छ । ‘सुपरमार्केट, खाद्यान्न पसल, तरकारी तथा दुग्ध पदार्थको बिक्री सहज बनाइने छ । समय तालिका तोक्दा भीड हुने र यसले झन् असुरक्षा सिर्जना गर्छ । हामीले उपभोक्तालाई आफ्नो अनुकूल हुने गरी खाद्यान्न खरिद गर्न आग्रह गरेका छौँ ।’

लकडाउनमा कुन–कुन पसल खुला रहन्छ 

खाद्यवस्तु, तरकारी, फलफूल, दूध, पानी, औषधि र औषधिजन्य पदार्थ तथा खाना पकाउने एलपीजी ग्यास, बिक्री वितरण हुने पसल तथा बिक्री कक्षहरू नियमित सञ्चालन हुने ।

उक्त पसलमा काम गर्ने सबैले अनिवार्य रूपमा मास्क लगाउने र समय समयमा स्यानिटाइजर वा साबुन पानीले हात धुने व्यवस्था गर्ने ।

उपभोग्य सामग्री, औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी तथा औषधि, खाद्यवस्तुका कच्चापदार्थ र पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याससमेत ढुवानी गर्ने यातायातका साधन यथावत सञ्चालन हुने ।

ढुवानीकर्ता एवं बिक्रेता तथा वितरकले ढुवानी मजदुरको व्यवस्था गर्नुपर्ने र ती सबै मजदुरहरूका लागि अनिवार्य रूपमा मास्कको व्यवस्था गर्ने ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेडद्वारा सञ्चालित पसलहरू यथावत् सञ्चालन गर्ने ।

आवश्यकताअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट मोबाइल भ्यानहरूबाट खाद्यवस्तु बोकी घुम्ती पसल सञ्चालन गरिने ।

खाद्यान्न बिक्रीका लागि एकभन्दा बढी स्थानमा बिक्रीकक्ष राखी बिक्री वितरण गर्ने ठुला बिक्रेता भोटभटेनी सुपरमार्केट, बिग मार्ट, सेलवेल, सेल्सबेरी जस्ताहरूले आफ्ना बिक्री कक्षबाट नियमित बिक्री गर्नुका साथै आफ्ना ग्राहकलाई उनीहरूकै ठेगानामा डेलिभरी गर्ने व्यवस्था समेत हुने ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि