बैशाख २०, २०८१, बिहीबार
               

उद्यमी बन्दै तनहुँका महिला

रासस
चैत ०७, २०७६

ADVERTISEMENT

दमौली । तनहुँको व्यास नगरपालिका–४ बस्ने सविना खातुन दिनभरि घरमै त्यत्तिकै बस्थिन् । घरायसी काममा मात्रै तल्लीन रहने उनको हातमा कुनै सीप थिएन । दिउँसो घरमा बस्दा टिभी हेर्ने, मोबाइल चलाउनेबाहेक विकल्प उनीसँग थिएन ।

तर, अब फुर्सदको समय उनलाई त्यत्तिकै कटाउनु पर्दैन । उनलाई यहाँ सञ्चालित सिलाइकटाई तालिमले उद्यमी बन्न सहयोग पुर्याएको छ । निलकुमारी मियाँ फाउण्डेशनले सञ्चालन गरेको तीनमहिने तालिमले उनलाई दिउँसोको समयमा बेफुर्सदिलो त बनाउछ नै, साथै आम्दानीको स्रोतको बाटो पनि देखाएको छ ।

‘दिउँसोको समयमा अब त्यत्तिकै बस्नुपरेन, तालिम लिएपछि उद्यमी बन्न सहयोग पुगेको छ’,  सविना भनिन्, ‘घरमै बसेर पनि कपडा सिलाएर आम्दानी गर्ने सोच बनाएको छु ।’ काठमाडौंबाट विभिन्न किसिमका कपडा खरिद गरेर ल्याई सिलाएर बिक्री गर्ने उनले जानकारी दिए ।

सोही ठाउँ निवासी जुना गुरुङ पनि तालिम लिएपछि उत्साहित छन् ।  उनले भनिन्, ‘फुर्सदको समयमा कपडा सिलाएर आम्दानी गर्ने तयारी गरेको छु ।’ बिहान दिउँसो घरको काम पनि सक्नुपर्ने भए पनि उनले एक दिन पनि तालिम छुटाइनन् ।

स्थानीय कसिरा खातुनले कम लगानीमा पनि मनग्य आम्दानी हुने भएपछि तालिमपछि सिलाइकटाई व्यवसाय सञ्चालन गर्ने तयारी गरेको जानकारी दिइन् । ‘घरमै बसेर काम गर्न पनि पाइने र आम्दानी पनि हुने भएकाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्छु’, उनले भनिन्, ‘यसका लागि घरपरिवारको पनि सहयोग पाएकी छु ।’

मियाँ, गुरुङ र खातुनजस्तै यहाँका २४ जना महिला तालिमपछि उद्यमी बन्ने तरखरमा छन् । तालिम लिनेमध्ये १८ मुस्लिम समुदाय र ६ जना अन्य समुदायका महिला छन् ।

महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यकासाथ सञ्चालित तालिम प्रभावकारी भएको फाउण्डेशनका अध्यक्ष रुविना खानलले जानकारी दिइन् । ‘सीप सिकेपछि कोही पनि बेरोजगार बस्नुपर्दैन’, उनले भनिन्, ‘महिला अरुको भर पर्ने होइन, आफैँ उद्यमी भएर देखाउनु पर्छ ।’ 

प्रतिनिधिसभा सदस्य कलिला खानले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । ‘आर्थिकरूपमा आत्मनिर्भर बन्ने सोच बनाएर काम गर्दा कसैबाट पनि अपहेलित हुनुपर्दैन’, खानले भने, ‘महिला आफैँ सक्षम हुन सक्छन् भनेर समाजमा उदाहरणीय प्रस्तुत गर्नुपर्छ ।’

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि