जेठ ०४, २०८१, शुक्रबार
               

वाणिज्य बैंकको २९ ‘एक्स्टेन्शन काउन्टर’

रासस
चैत ०५, २०७६

ADVERTISEMENT

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र बुधबारदेखि सञ्चालनमा आएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा रु एक हजार १०५ जम्मा गर्दै शाखाको कारोवार शुभारम्भ गरे ।

उनले केन्द्र सञ्चालनमा आएपछि कार्यालयले राजश्व बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको बताए ।

प्रजिअ गौतमले भने, ‘धरौटी तथा राजश्व कार्यालमा काम गर्ने कर्मचारीले सङ्कलन गर्ने र भोलिपल्ट मात्रै जम्मा गर्ने परिपाटीको अन्त्य भएको छ भने उक्त पैसाको दुरुपयोग हुने सम्भावनाको पनि अन्त्य भएको छ ।’

एक्स्टेन्शन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य भनेको राजश्व सङ्कलन गर्नु नै भएको राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीका प्रबन्धक खिलानाथ भट्टराईले जानकारी दिए ।

उनले बिस्तारै उक्त काउन्टरबाट कर्मचारीको नगद जम्मा तथा चेक कारोवार, नागरिक लगानी कोषलगायत राजश्व सङ्कलन गरिने उनको भनाइ छ । 

वाणिज्य बैंकले हाल देशका सातवटै प्रदेशका ७७ वटै जिल्लाबाट २३९ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ । बैंकका २०४ एटिएम र २८ वटा एक्स्टेन्शन काउन्टरबाट सेवासमेत दिइरहेको छ ।

बैंकले २०७६ पुस मसान्तसम्म रु १९५ अर्ब निक्षेप सङ्कलन गरी रु १४७ अर्ब कर्जा प्रवाह गरेको सो अवसरमा जानकारी दिइयो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि