मंसिर ०७, २०८१, शुक्रबार
               

म्याग्दी खोलामा मलेशियाली कम्पनीको लगानी

रासस
चैत ०४, २०७६

ADVERTISEMENT

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा निर्माण हुन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेशियाको सेर्वा दिनामिक कम्पनीले लगानी गर्ने भएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रोभिलज प्रालि र सेर्वा दिनामिकबीच शेयर खरिद, इञ्जिनीयरिङ, निर्माण र उत्पादन (इपिसिसी) मा सहभागी हुने सम्झौता भएको हो । मलेशियाको सेर्वा दिनामिक होल्डिङ्स बर्हाडको सहायक कम्पनी सेर्वा दिनामिकले परियोजनाको सञ्चालन तथा मर्मत पनि गर्ने सम्झौतामा उल्लेख छ । 

सम्झौतामा सेर्वा दिनामिकका तर्फबाट डा. इर मोहम्मद अब्दुल करिम बिन अब्दुल्लाह तथा हाइड्रोभिलेजका प्रबन्ध निर्देशक सुशील पोखरेलले हस्ताक्षर गरेका छन् । 

दश करोड अमेरिकी डलर लागत अनुमान गरिएको म्याग्दी खोलाको २०७५ असोज पहिलो हप्ता नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । पाँच वर्षमा विद्युत् उत्पादन गर्ने सम्झौतामा उल्लेख छ । 

आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा आठ रुपैयाँ ४० पैसा र वर्षात्मा चार रुपैयाँ ८० पैसाका दरले खरिद गर्नेछ । म्याग्दी खोलामा नदी प्रवाही (आरओआर) आयोजनाको बाँध धौलागिरि गाउँपालिका–४ मुदीको दोभान र विद्युतगृह बगरको जेल्तलुङमा प्रस्ताव गरिएको छ ।  

आयोजनाले ३३ करोड ५९ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि