बैशाख १७, २०८१, सोमबार
               

असिनापानीले गहुँ र तरकारीबाली नष्ट

रासस
चैत ०२, २०७६

ADVERTISEMENT

मार्तडी । शनिबार बाजुरामा परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा क्षति पुर्याएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको तल्लो भेगका बूढीगङ्गा, बडीमालिका नगरपालिका सहित अधिकांश स्थानीय तहका अन्नबालीमा करिब एक घण्टा बढी समयसम्म परेको असिनापानीले नष्ट पारेको छ ।

पाक्न लागेको गहुँ, पाकिसकेको जौ र तरकारीबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले असिनापानीले के कति क्षति पुर्यायो भन्ने एकीन नभएको बताए ।

त्रिवेणी नगरपालिका–३ का वडाअध्यक्ष मीन भण्डारीले असिनापानीले गहुँबालीलाई नराम्रो क्षति पुर्याएको बताए । किसानको खेतमा हेरी सुस्केरा हाल्नुबाहेक केही नभएको दुखेसो छ ।

जिल्लाका अन्य स्थानीय तहमा जेठ र असारसम्म गहुँबाली पाक्ने गरे पनि त्रिवेणी, बूढीगङ्गासहितका स्थानीय तहमा चैतको सुरुमा नै काट्न थाल्ने गरेका छन् । बेसी र बढी उत्पादन हुने क्षेत्रका रूपमा पनि लिने गरिएको छ ।

क्षतिको यथार्थ विवरण संकलन गरी किसानलाई राहतको व्यवस्था गर्न ज्ञान केन्द्रले आग्रह गरेको केन्द्रका निमित्त  प्रमुख गोविन्द सिजापतीले बताए । उनले क्षतिको विवरण संकलन गर्न वडा कार्यालयलाई जुट्न आग्रह गरे ।  

क्षतिको यथार्थ विवरण संकलन गरी किसानलाई राहतका लागि पहल गर्ने बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले जानकारी दिए । कृषि शाखाले प्रत्येक वडामा क्षतिको विवरण संकलन गर्न प्राविधिक टोली पठाउने उनले बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि