जेठ ०६, २०८१, आइतबार
               

सिन्दुरे रोगले गहुँ नष्ट, किसान मारमा

रासस
चैत ०१, २०७६

ADVERTISEMENT

बैतडी । सिन्दुरे रोगले गहुँ नष्ट भएपछि बैतडीका किसान चिन्तित बनेका छन् ।  जिल्लाका  विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको हो । 

दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा सो रोग देखा परेको कृषि प्राविधिकले बताएका छन् ।

दोगडाकेदार–२ को घमालीमा गहुँमा सो रोगको प्रकोप देखा परेको कृषि प्राविधिक कविराज भट्टले बताए । उनले भने, ‘करिब छ हेक्टर जमिनमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको छ ।’ 

गहुँबाली उक्त रोगले सखाप पारेको किसान वीरबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘खेतमा लगाएको सबै गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको छ ।’

पाटन नगरपालिका–६ मा गहुँबालीमा त्यही रोगको प्रकोप देखा परेको उक्त नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । गहुँ उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा रोगले गहुँबाली नष्ट भइरहेको उनले बतए ।

उनले भने, ‘रोग अवरोध जात नछरेका कारण गहुँबालीमा उक्त रोगको प्रकोप देखा परेको हो, ढुसीका कारण पनि गहुँबालीमा यो रोग देखा पर्ने गरेको छ ।’ पाटनमा पनि छ हेक्टर बढी जमिनमा लगाएको गहुँबालीमा उक्त रोगको प्रकोप देखा परेको जनाइएको छ । 

गहुँबालीमा रोगको प्रकोप देखा परेकाले यो वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

यो वर्ष लगातारको वर्षाले पनि गहुँबालीमा विभिन्न रोग देखा परेको उनले बताए । बैतडीमा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिन्छ जसमध्ये १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि