जेठ ०१, २०८१, मंगलबार
               

मिर्गौला पीडित बिन्दुलाई पाँच लाख सहयोग

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

गलकोट । दुवै मिर्गौला फेल भएर उपचारको लागि सहयोगको याचना गरेकी बागलुङ जैमिनी नगरपालिका–१ कुश्मीशेराकी बिन्दु थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ‘सुनौलो बागलुङ’ संस्थाका संस्थापक शिव श्रीस, नेपाली कांग्रेस जैमिनी नगरपालिकाका सचिव तथा युवा नेता पुरन श्रीस र जोजो क्षेत्रीको पहलमा स्वदेश विदेशमा संकलित पाँच लाख पाँच हजार ८०५ रुपैयाँ उपचारमा सहयोग पुर्याउन मिर्गौला पीडित थापाका बुबा मनबहादुरलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

दुवै मिर्गौला फेल भएपछि २२ वर्षीया बिन्दुको हाल भारतको नयाँ दिल्लीको एक अस्पतालमा उपचार भइरहेको छ । फेसबुकमा सुनौलो बागलुङ नामक संस्थामार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका ती युवाले थापाको उपचारमा आर्थिक अभाव भएपछि बिन्दु बचाउ अभियान चलाएका थिए ।

गत फागुन १ गतेदेखि सञ्चालन गरिएको अभियानमा देश तथा विदेशमा रहेका जैमिनीवासी र शुभेच्छुक झण्डै १०० ले सहयोग गरेको अभियन्ता पुरन श्रीसले जानकारी दिए । ‘पीडितलाई उपचारमा आर्थिक अभाव भएको कारण स्वतःस्फूर्तरूपमा सहयोग अभियान सञ्चालन गरेका थियौँ’, श्रीसले भने, ‘सबैको सहयोगले गर्दा थापाको उपचारमा सहयोग पुग्नेछ ।’

श्रीसका अनुसार हङकङमा कार्यरत जैमिनीवासी र अन्य विभिन्न क्षेत्रका प्रवासीले यसअघि नगद एक लाख ११ हजार रुपैयाँ सहयोग गरेका थिए । पीडित बिन्दुका बुबा मनबहादुरका अनुसार हालसम्म उपचारमा ६ देखि सात लाखसम्म खर्च भइसकेको छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोगको अपिल गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि