कात्तिक ३०, २०८१, शुक्रबार
               

स्याउका बिरुवा बेचेरै करोडौँ कमाइ

रासस
फागुन १८, २०७६

ADVERTISEMENT

जुम्ला ।  सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण  पकेट क्षेत्रमा पठाए । उनको नर्सरीबाट  रिखेवडार स्याउ पकेट क्षेत्रमा  मात्र ६ सय  बिरुवा बाहिरियो । उनीसँग स्याउका बिरुवाको माग अत्यधिक छ । गोडमेल गरेपछि अर्को चरणमा बिरुवा पठाउने तयारीमा रहेको उहाँ बताउँछन् 

    चन्दननाथ नगरपालिकाका नरबहादुर रावतले यहाँ उत्पादित स्याउका बिरुवा देशैभर पुग्ने गरेको अनुभव सुनाए । उनले भने, ‘किसानले गुणस्तरीय बिरुवा उत्पादन गर्नुपर्छ । सबै बिरुवा बिक्री भइहाल्छ । किसानलाई स्याउका बिरुवा खेर गयो भनेर पछुताउनुपर्ने हुँदैन ।” जुम्लाको १४औँ जिल्ला परिषद्ले ‘एक घर एक स्याउ बगैँचा’को अवधारणा ल्याएदेखि नै उनले स्याउको बिरुवा उमार्न थालेका हुन् ।

बुढा र रावत उदाहरण मात्र हुनुहुन्छ । उनी जस्ता स्याउ किसानले जुम्लामा १ सय १० नर्सरी दर्ता गरेका छन् । जुम्लामा उत्पादित बिरुवाको माग जिल्ला बाहिर बढी छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा भन्छन्, “यस वर्ष जिल्लामा छ लाख स्याउका बिरुवा उत्पादन भएको थियो ।

नर्सरी बारीमै प्रतिबिरुवाको मूल्य रु ४० कायम गरिएको छ । यस वर्ष झण्डै रु दुई करोड ४० लाख बराबरको स्याउको बिरुवा बिक्री भयो ।’ स्याउ कुल उत्पादनको २० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ । असी प्रतिशत उत्पादनको बजार जिल्ला बाहिर नै हो । “जुम्ला डेलिसियस’ जातको स्याउका बिरुवाको राष्ट्रिय स्रोत केन्द्रका रूपमा स्थापित भइसकेको उनी  बताउँछन् ।

यतिवेला  किसानले स्याउ बगैँचा व्यवस्थापनको काम सकाएका छन् । बोटको कोपिला पलाउने र फुल्ने मौसम शुरु हुन थालेपछि किसानले बगैँचा व्यवस्थापनलाई जोड दिएका थिए । ‘राम्रो काँटछाँट नभए स्याउले उत्पादन राम्रो दिँदैन’, स्याउ किसान जीवनबहादुर खत्रीले भने, ‘स्याउलाई गुणस्तरीय बनाउन आवश्यक मलखाद्य र व्यवस्थापनको जरुरी छ । यसका लागि यहाँका किसान लागिपरेका छन् ।” 

हिउँका डल्ला हिउँ पोखरीमा सङ्कलन गर्ने, स्याउ बिरुवाको वरिपरि राख्ने, कोलिया बनाउने, घेरबार गर्ने, कलमी गर्ने, गोडमेल गर्ने, बोडो पेष्ट लगाउने काम स्याउ किसानले गरिसकेका छन् ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि