नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि पर्साका ५ प्रतिशत नागरिक अहिले पनि भारतीय ढिके नुनमाथि निर्भर छन् ।
भारतीय सीमासँग जोडिएका पर्साको दुर्गम गाउँका बासिन्दामा प्रचारप्रसारको कमी तथा जनचेतनाको अभावका कारण भारतबाट आयात हुने कमसल नुन प्रयोग गर्न बाध्य छन् ।
विगत ७ वर्षअघि त्यस भेगका करिब ७५ प्रतिशत ग्रामीण बासिन्दा भारतमा प्रशोधित आयोडिन रहित नुन प्रयोग गर्ने गर्दथे । अहिले भने साल्ट ट्रेडिङले आयोडिनयुक्त नुनको प्रचारप्रसार गरेपछि पर्साका ९५ प्रतिशत नागरिकको भान्सामा स्वास्थ्यकर नुन प्रयोग हुन थालेका छन् ।
“फेब्रुअरीलाई आयोडिन महिनाका रूपमा मनाउन थालेपछि यसको सकारात्मक प्रभाव पर्सा जिल्लाको अति दुर्गम गाउँसम्म पुगेकाले प्रयोगकर्ता ह्वात्तै बढेका छन्”, साल्ट ट्रेडिङका क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले जानकारी दिए, “जिल्लामा सर्वसाधारणको उपस्थित हुने ठाउँमा तुल–ब्यानरको प्रयोग, विद्यालयमा विद्यार्थीलाई यसको प्रयोगले हुने फाइदाबारे जानकारी दिइएको छ ।”
जिल्लाभरि नै १२ वटा थोक बिक्रेतामार्फत आयोडिन नुन पुर्याउने काम भइरहेको सो कार्यालयले जनाएको छ । सङ्घीय सरकारको मातहतमा रहेको साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले विगत ४ वर्षदेखि आयोडिन नुनको मूल्य बढाएको छैन । तर दुर्गम गाउँमा रहेका खुद्रा व्यापारीले ढुवानी खर्चको नाममा प्रति किलो २५ रुपैयाँसम्ममा बिक्री गरिरहेको गुनासो उपभोक्ताको छ ।
चर्को मूल्यमा बिक्री हुँदा अहिले पनि सीमावर्ती क्षेत्रका पाँच प्रतिशत नेपाली नागरिक भारतका सस्तो तथा गुणस्तरहीन नुन खान बाध्य रहेका छन् ।