बैशाख २१, २०८१, शुक्रबार
               

फरक क्षमता भएका फूलखेतीमा आकर्षित

रासस
फागुन ०२, २०७६

ADVERTISEMENT

पाल्पा । फरक क्षमता भएका युवा व्यावसायिकरूपमा फूलखेती गरी आफ्नो जीवन पनि फूल जस्तो सुन्दर बनाउन यस व्यवसायमा आकर्षित हुँदै आएको छ। फूलखेतीबाट प्रशस्त आम्दानी हुने भएपछि फरक क्षमता भएका व्यक्ति फूल खेतीप्रति आकर्षित बनेका हुन् । 
समाजमा फरक क्षमता भएका व्यक्तिले अपमानित जीवन बिताइरहँदा तानसेन नगरपालिका–९ अर्खलेमा माडी माण्डव्य कृषि समूहमा सङ्गठित हुँदै फूलखेतीमा आफ्नो भविष्य खोजी गर्न थालेका हुन् । समाजमा परक क्षमता भएका व्यक्ति आत्मनिर्भर हुन सक्छन् भन्ने यो नमूना हो ।
गत मङ्सिर महिना समूह गठन गरी नगरपालिकामा दर्ता गराई व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएको समूहका अध्यक्ष दिनेश बस्यालले बताए । तीन महिनाको अवधिमा फूलका बेर्ना र सयपत्रीका माला कारोबारबाट रु दुई लाख आम्दानी हुँदै आएको बस्यालको जिकिर छ । एउटा फूलको मालाको रु १२० मा कारोबार हुँदै आएको छ । स्थानीयस्तरमा सञ्चालित मेला महोत्सव, विद्यालयका वार्षिकोत्सव, विवाह, पूजालगायतका शुभकार्यमा फूलका मालाको माग बढ्दो छ ।
समूहका उपाध्यक्ष मीनबहादुर नेपालीको नर्सरीमा १२÷१५ जातका फूलको बेर्ना तयार हुँदै आएको छ । नर्सरीमा सयपत्री, कन्डला, गोपीफूल, धुपी, फेलिक्स, लालुपाते, गोदावरी, हजारीलगायतका फूल उत्पादनले यस क्षेत्र निकै आकर्षित बनेको छ । समूहका सदस्यले आआफ्ना घरमा व्यावसायिकरूपमा फूलखेती गरी प्रशस्त आम्दानी हात पार्न सफल बनेको नेपालीले बताए ।
रुपन्देहीको लुम्बिनी नर्सरीबाट फूलखेतीका लागि बीउ तथा बेर्ना खरिद गरी ल्याउने र आफूहरुले नर्सरीमा हुर्काउने गर्छन् । यहाँका बीउबाट उत्पादित फूलको बेर्ना निकै राम्रो र पहाडी क्षेत्रमा हुर्काउन सजिलो हुँदा फूलको माग बढ्दो छ ।
बीस रोपनी जमीनमा व्यावसायिकरूपमा फूलखेतीप्रति युवा हौसिएका हुन् । बाह्रपन्ध जातिका फूलका बेर्ना हुर्काउन व्यस्त छन् । रङ्गीचङ्गी फूल फूलिरहँदा मनमा खुशी हुन्छ । फूलको सुन्दरताप्रति जोहो कोही पनि लालायित हुन्छन् । फूलखेतीको नेतृत्व वैदेशिक रोजगारबाट फर्केका बस्यालले गरेका छन । दुबईमा तीन वर्ष म्याप कम्पनीका कार्यरत बस्यालको बायाँ हात चल्दैन । 
समूहका अध्यक्ष बस्यालका अनुसार रु तीन लाख लगानीमा व्यावसायिकरूपमा फूलखेती थालिएको हो । यहाँ उत्पादित फूल तानसेन, बुटवल, स्याङ्जालगायतका क्षेत्रमा खपत हुँदै आएको छ । समूहका उपाध्यक्ष नेपालीलाई मुटु र मेरुदण्डको समस्या छ । समूहका १८ जनाको एउटा कृषि समूह छ । समूहमा सबै व्यक्ति फरक क्षमता भएका छन् । 
तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा र रामपुर नगरपालिका क्षेत्रभित्र व्यावसायिकरूपमा फूलखेती हुँदै आएको छ । पाल्पाको रक्साहामा सञ्चालित व्यावसायिक फूलखेतीबाट वार्षिक रु २० लाख आम्दानी हुने गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताले पाल्पा व्यावसायिक फूलखेतीको सम्भावना देखेर रक्साहामा फूलको नर्सरी सञ्चालन गरेका छन् ।
 पाल्पाको भैरवस्थानस्थित प्रसिद्ध भैरव मन्दिर, तिनाउँस्थित सिद्धबाबा मन्दिर, तानसेन, र रामपुर क्षेत्रमा फूलको माग बढ्दो छ । स्थानीय तहबाट व्यावसायिक फूलखेतीप्रति लक्षित गरी नीति, कार्यक्रम र बजेटको व्यवस्थापन हुन सकेको छैन ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि