मंसिर ०७, २०८१, शुक्रबार
               

९५ प्रतिशत सिमेन्ट स्वदेशी उत्पादनकै भर

रासस
माघ २९, २०७६

ADVERTISEMENT

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक भएको औँल्याएका छन् ।

सडक विभाग र सिमेन्ट व्यवसायी सङ्घ नेपालद्वारा संयुक्त आयोजित अन्तर्क्रियामा उनले लगानी र अनुभव दुबैमा सहकार्य हुनुपर्ने बताए ।

उनले भौतिक पूर्वाधार छिटो र गुणस्तरीय नहुँदासम्म राष्ट्रिय आकाङ्क्षा पूरा नहुने पनि बताए । सरकारले देश धनी बनाएर जनतालाई सुखी बनाउन कृषि, उद्योग, पर्यटन र पूर्वाधारलाई ध्यान दिइरहेको दाबी उनले गरे । 

उपप्रधानमन्त्री पोखरेलले भने “सिमेन्ट उत्पादन बढे पनि अझै पनि गुणस्तरीय उत्पादन नभएको टिप्पणी आइरहेको छ ।”

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले देशभित्र सिमेन्टको उत्पादन बढिरहेकाले त्यसको खपत बढाउन सडक निर्माणमा प्रयोगको सम्भावना रहेको बताए । 

कङ्क्रिट सडक निर्माण गर्दा हुने फाइदा र बेफाइदाका बारेमा विस्तृत अध्ययन गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । 

पहिले सिमेन्ट चाहिँदा केही समय पहिले नै ‘बुकिङ’ गर्नुपर्ने अवस्थाबाट अहिले आत्मनिर्भरको अवस्थामा आउनु सकारात्मक कुरा भएको उनले जनाए । 

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको बताए । 

समृद्धिका लागि विकास आवश्यक भएको बताउँदै उनले भने, “पूर्वाधारको विकाससँगै सिमेन्टको प्रयोग बढ्दै जानेछ ।”

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले हाल निर्माण भइरहेको प्रविधिबाट कङ्क्रिटबाट सडक निर्माण गर्दा हुने फाइदा बुझाउन नमुना परीक्षण गर्नुपर्ने बताए ।

हाल पुलहरूमा सिमेन्टको प्रयोग भइरहेकामा आगामी दिनमा सडकमा समेत बढाउन सकिने उनको भनाइ थियो ।

सङ्घका अध्यक्ष धुव्रराज थापाले यस वर्ष देशभर खपत भइरहेको सिमेन्टमध्ये ९५ प्रतिशत देशमा नै उत्पादन भएको बताए । 

आगामी वर्ष देशभित्र आवश्यकताभन्दा उत्पादन बढी हुने भएकाले यसको प्रयोग हुने क्षेत्र विस्तार गर्नुपर्नेमा उनले जोड दिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि