बैशाख १४, २०८१, शुक्रबार
               

न्युरो अस्पतालको अमानवीय हर्कत, बिरामीमा कोरोना देखिएपछि आइसियूबाटै जबरजस्ती डिस्चार्ज
मन्त्रालयले गर्ला त कारबाही ?

ADVERTISEMENT

काठमाडौं । बाँसबारीस्थित न्युरो अस्पताल (उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्स) ले एक बिरामीलाई शल्यक्रिया पश्चात अमानवीय ढङ्गबाट (अस्पतालबाट) निकालेको छ । टाउकाेको शल्यक्रिया गरिएकी एक बिरामी महिलाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उनलाई जबरजस्ती डिस्चार्ज गरेको हो । स्वास्थ्य मन्त्रालयले पटक–पटक जारी गरेको निर्देशिकामा हरेक अस्पताललाई उपलब्ध स्रोत साधनको प्रयोग गरी आइसोलेसन सञ्चालन गर्न भनेको छ ।

अस्पतालमा उपचाररत बिरामीमा कोराेना संक्रमण पुष्टि भएमा संक्रमितमा देखिएको लक्षणका आधारमा अस्पतालले आइसोलेसन सम्बन्धी निर्णय लिन सक्ने निर्देशिकामा उल्लेख छ । तर सरकारले बनाएको निर्देशिकाको अवज्ञा गरी आइसोलेसन वार्ड समेत नबनाएको न्यूरो अस्पतालले बिरामीसँग चर्को शुल्क असुलेर अमानवीय ढङ्गबाट बिरामीलाई नै निकालिदिएको छ । 

यसअघि पनि यसैगरी कोरोना लागेको भन्दै शल्यक्रिया गरिएका बिरामीलाई अस्पतालबाट निकाल्दा चितवन र बुटवलमा दुई जनाको मृत्यु भइसकेको छ । ती अस्पतालले जोखिम मोलेर रेफर गर्दै बिरामीलाई मृत्युको मुखमा पुर्‍याएका थिए ।

त्यसैगरी न्युरो अस्पतालले पनि सामान्य मानवीय संवेदनाको समेत ख्याल नगरी बिरामीलाई निकालिदिएको छ । बिरामी महिलाका छोराले नेपाल फ्ल्याससँग भने, ‘उपचारको लागि तिर्न बाँकी खर्च दिएर बिरामी लैजानुस् भनेर आइसियूबाट बिरामीलाई तल झारिदिए, हामी चुपचाप बिरामी लैजान बाध्य भयौं ।’

यदि अस्पतालले बिरामी पठाउनै पर्ने भए पनि अर्को अस्पतालमा बिरामीको उपचारसँग सम्बन्धित विषय विज्ञ चिकित्सकसँग समन्वयन गर्नुपर्ने प्रावधान छ । तर न्युरो अस्पतालले भने बिरामी लैजान सल्लाह दिएको शिक्षण अस्पतालका कुनै चिकित्सकसँग कुनै सम्पर्क तथा परामर्श नगरी अस्पतालबाट बिरामी डिस्चार्ज गरिदियो ।

अस्पतालै पनि बिरामीको बेवास्ता

न्युरो अस्पताले उदयपुर गाईघाटकी ५२ वर्षीया महिलालाई गत मंगलबार राति आइसियूमा भर्ना गरेको थियो । मस्तिष्कको नशा फुल्ने समस्या भएकी ती महिलालाई भोलिपल्ट बुधवार अपरान्ह तीन बजेपछि मात्र विषय-विज्ञ चिकित्सकले हेरेका थिए । त्यसअघि अस्पतालमा भर्ना गरिएको २० घण्टासम्म नर्स बाहेक कुनै चिकित्सकले बिरामी हेर्न गएनन् ।

आइसियूमा भर्ना गरिएका बिरामी हेर्न २० घण्टापछि आएका चिकित्सकले ‘बिरामीको मस्तिष्कको नशा फुलेको र तत्काल अप्रेशन नगरे ज्यान जाने खतरा रहेको’ बताए । बिरामीका आफन्तले तत्कालै पैसा खोजखाज गरेर अस्पतालमा डिपोजिट गरे । बिरामीको कोरोना परीक्षणको लागि बुधवार स्वाब लिइयो ।

उनको मस्तिष्कको नशाको अप्रेशन भने बिहीबार गरियो । बिरामीमा कोरोना पोजेटिभ देखिएको रिर्पाेट शुक्रवार न्युरो अस्पतालमा पुग्यो । मस्तिष्क शल्यक्रिया अरू शल्यक्रियाभन्दा जटिल र संवेदनशील हो । तर बिरामीलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालले बिरामीको आफन्त बोलाएर तत्कालै बिरामी लैजान भन्यो ।

शल्यक्रिया र उपचारबापत लागेको खर्च सात लाख ६५ हजार रुपैयाँ लिएपछि अस्पतालले बिरामीलाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा लैजान आग्रह गर्‍यो । बिरामीलाई आफन्तले शुक्रबार राति सात बजे शिक्षण अस्पताल ल्याएका छन् ।

न्युरोले समन्वय गरेको छैन: शिक्षण अस्पताल

यता महाराजगन्जस्थित शिक्षण अस्पताल प्रशासनले मस्तिष्कको नशाको शल्यक्रिया गरिएको बिरामी आफै स्वतस्फुर्त आएको बताएको छ। अस्पतालका एक वरिष्ठ चिकित्सकले भने ‘उहाँलाई शल्यक्रिया गरिएको अस्पताल र डाक्टर कोहीसँग समन्वय भएको छैन, उहाँहरूले केही खबर गर्नुभएको छैन ।’

बिरामी अर्को अस्पतालमा ल्याएपछि बिरामीका आफन्त समेत अन्योलमा छन् । एक आफन्तले भने ‘बिरामीलाई कोरोना भएकाले हामीलाई समेत कतै जान नदिई राखिएको छ, उता बिरामीलाई कस्तो, के–के गर्नुपर्ने हो हामीलाई केही खबर छैन ।’

न्युरो अस्पताल मौन

बिरामीलाई अमानवीय तरिकाले निकालिएको घटनाको विषयमा न्यूरो अस्पताल केही बोलेको छैन । नेपाल फ्ल्यासले पटक–पटक सम्पर्क गर्दा पनि अस्पतालले कुनै प्रतिक्रिया दिएन । अस्पताल प्रशासनकी डा‍. रचनाले यस विषयमा आफूले नभई निर्देशकले बोल्ने बताइन् ।

डा. रचनाको भनाई उधृत गर्दै अस्पताल फ्रन्ट डेस्ककी एक महिला कर्मचारीले नेपाल फ्ल्याससँग भनिन् ‘आज शनिबार यस विषयमा बोल्न मिल्दैन, त्यही पनि निर्देशकले यस विषयमा बोल्नुहुन्छ ।’  त्यसपछि अस्पतालका निर्देशकसँग समेत सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

कारबाही गर्ने मन्त्रालयको चेतावनी

सबै अस्पतालले कोरोना पोजेटिभ, नेगेटिभको उपचार गर्नुपर्ने प्रावधान रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अस्पतालमा उपचाररत बिरामीमा संक्रमण पुष्टि भएमा संक्रमितमा देखिएको लक्षणका आधारमा अस्पतालले आइसोलेसन सम्बन्धी निर्णय लिन सक्ने निर्देशिकामा उल्लेख छ । तर यसरी टाउकाको शल्यक्रिया गरेका बिरामीलाई २४ घण्टा नबित्दै जबरजस्ती डिस्चार्ज गर्नु कुनै पनि हालतमा स्वीकार्य नभएको स्वास्थ्य मन्त्रालयको प्रतिक्रिया छ ।

‘सबै अस्पताललाई कोरोना उपचार गर्ने गरी आइसोलेसन वार्ड बनाउन भनेका छौँ, निर्देशिकाको सबैले पालना गर्नुपर्छ, अझ कोरोना पोजेटिभ देखिएपछि बिरामीलाई अमानवीय किसिमले निकाल्नु भनेको अपराध हो, त्यो मानवीयतासँग मात्र जोडिएको विषय होइन, जुनसुकै कानुन र मान्यता विपरीत छ, फेरि विरामीसंँग पैसा लिएर व्यापार चाहिँ गर्ने, त्यही बिरामीलाई पूरा उपचार नगर्नु दण्डनीय अपराध हो ।’

यदि कुनै कारण बस उपचार गर्न समस्या भएमा कोरोना उपचार अस्पतालमा समन्वय गरी पठाउनुपर्ने प्रवक्ता गौतमले बताए । ‘बिरामी ह्याण्ड ओभर गर्नु विश्वव्यापी मान्यता हो, तर अर्को अस्पताल र सम्बन्धित विषय-विज्ञ डाक्टरसँग समन्वय नगरी बिरामी पठाउनु चिकित्सकीय मान्यता विपरीत मात्र होइन अमानवीय हो’ प्रवक्ता गौतमले नेपाल फ्ल्याससँग भने, हामी यस घटनाले दु:खी छौँ, यसबारेमा छानबिन गर्छौँ ।’

एकतर्फ कोरोना पोजेटिभको उपचार गर्ने व्यवस्था पनि नगर्ने, अर्कोतर्फ बिरामीलाई अर्को अस्पतालमा समन्वय नगराई पठाउने दुवै नियम कानुन विपरीत भएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

केही दिनअघि पनि चितवनको एक अस्पतालमा उपचाररत बिरामीलाई कोरोना पोजेटिभ देखिएको थियो । तर अस्पतालले अर्को कोरोना उपचार अस्पताललाई सम्बन्धित विषय-विज्ञ डाक्टरसँगको समन्वयमा औपचारिक रूपमा बिरामी हस्तान्तरण गरेको थियो । यसरी बिरामी हस्तान्तरण गर्ने प्रचलित मान्यता हो ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि