बैशाख १५, २०८१, शनिबार
               

मलाई कोरोना लागेकाे छ भन्दै लकडाउन उल्लघंन गर्नेहरूबाट प्रहरी हैरान !

ADVERTISEMENT

कठमाडौं । केही दिनअघि चावहिलबाट चक्रपथतर्फ मोटरसाइकल चलाउँदै आएका एक युवकलाई ट्राफिक प्रहरीले रोके । महानगरीय ट्राफिक कार्यालय चक्रपथका प्रमुख, प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वमा टोली खटिएको थियो । ट्राफिकले इसारा गर्नासाथ मोटरसाइकल चालकले आदेश पालना गर्दै भौतिक दुरी कायम गर्दै सवारी रोके ।

प्रहरी निरीक्षक भट्टले ‘कहाँ जान लागेको ?’  भनेर सोध्नै लागेका थिए । ती व्यक्तिले हडबडाउदै चलाखीपूर्ण उत्तर दिए ‘सर मलाई ज्वरो आइरहेको छ, सास  फेर्न पनि गाह्रो भयो, बिहानदेखि हाच्छ्युँ आएको आयै छ, परीक्षण गराउन टेकु अस्पताल जान लागेको ।’ 
कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएको जवाफ सुनेपछि न त प्रहरी निरीक्षक भट्टले थप प्रश्न गर्न सके, न त सत्य केहो भन्ने कुराको परीक्षण गर्न हिम्मत गरे । उनी आफै सतर्क हुँदै मोटरसाइकल चालकलाई गन्तव्यतर्फ जान इसारा गरे । दुरी टाढै रहे पनि ती व्यक्तिले बोल्दा आफूलाई थुक उछिट्टिएको पो छ की भनेर उनले ग्लोव्स लगाएको हातमा सेनेटाइजर लगाए । 

मोटरसाइकल चालकलाई हेरिरहँदा टेकु अस्पताल जान चक्रपथबाट बायाँ जानुपर्ने उनी बायाँतर्फ (बुढानीलकण्ठ ) पो मोडियो । प्रहरी निरीक्षक भट्टलाई निस्चित भयो ‘लकडाउन उल्लंंघन गर्दै हिँडेका ती व्यक्तिले सुरक्षाकर्मीलाई झुक्क्याउन कोरोना भएको बताएका रहेछन् ।’

केही दिनअघि महानगरीय ट्राफिक कार्यालय कंलंकीका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम कार्की कलङ्की चोकमा ड्युटीमा थिए । रवि भवनबाट कलंकीचोक तर्फ एउटा स्कुटर आयो । स्कुटरमा दुई जना महिला सवार थिए । प्रहरी निरीक्षक कार्कीले उनीहरूलाई सोधपुछ गरे । उनीहरूले भने ‘मनमोहन अस्पताल जान लागेको ।’

ह्याण्डिलमा झुन्डाइएको प्लास्टिकको झोला निकाल्दै अस्पतालको ओपिडी कार्ड देखाए । लकडाउनमा अत्यावश्यक कामका लागि जान लागेकाहरूलाई नरोक्ने नीति अनुसार उनीहरूलाई जान दिइयो । तर कलङ्की चोक पार गरेपछि उनीहरू दायाँतर्फ स्वयम्भूमा रहेको मनमोहन अस्पताल जानुपर्ने थियो । तर दायाँ स्कुटर मोडिएन । सिधै अगाडि थानकोटतर्फ सोझियो । प्रहरी निरीक्षक कार्कीले लख काटे ‘लकडाउनमा सवारी चलाउँदा प्रहरीले रोक्ने भएपछि, अस्पतालको कार्ड लिएर हिँडेका रहेछन् ।’

शुक्रवार साँझ साँढे ६ बजेतिर बलंबुमा दुई युवती कुकुर डोर्‍याउँदै घरबाट बाहिर निस्किए । साँझको समयमा त्यसमा पनि लकडाउनको समयमा खुलमखुला त्यसरी कुकुर डोर्‍याउँदै हिँडेको देखेपछि सम्झाउने प्रहरी थिएन । प्रहरीको उपस्थिति नभएकाले उनीहरूलाई सम्झाउने वा कारबाही गर्ने कोही थिएनन् । निर्धक्क कुकुर डुलाउँदै थिए । कोरोना संक्रमण देखिएको ठाउँमै यसरी हेलचक्राई गरेको देख्दा सबै छक्क परेका थिए । 

रिर्पाटिङको क्रममा रहेका पत्रकारद्वय रामनारायण घिमिरे र रोशन दानीले उनीहरूलाई सम्झाउन खोजे । ‘लकडाउनमा पनि ईभिनिङवाक किन ? फिटनेसभन्दा पहिला ज्यान बचाउनु ठूलो कुरा लाग्दैन ?’ पत्रकारले सोधे । तर ती युवतीहरूले उनीहरूको जिज्ञासा र सम्झाउने प्रयासलाई बेवास्ता गर्दै भने । ‘यस्तो लकडाउन भइरहन्छ, हामी कहाँ घरभित्रै बसिरहन सक्छौँ र ?’  रूखो स्वरमा प्रतिक्रिया दिए ।

यी त काठमाडौंमा लकडाउन उल्लङ्घन हुँदै आएको प्रतिनिधि घटना मात्रै हुन् । जब बिहान हुन्छ या साँझ पर्छ । मान्छेहरू हुल बाँधेरै सडकमा निस्कने गरेका छन् । प्रहरी आउँदा लुक्ने र अन्य समयमा चोकमै बसेर गफ लगाउँदै बस्ने गरेका छन् । धेरैजसो सुरक्षा कर्मीको उपस्थिति नहुने भित्री गल्लीहरूमा धेरै मानिसहरू भेटिन्छन् । मुख्य सडकमा समेत लकडाउन उल्लङ्घन गर्नेहरू सुरक्षाकर्मीबाट बच्न आफूलाई कोरोना भएको भन्न समेत पछि पर्दैनन् ।

प्रहरीले नरोक्ने भएकाले धेरैजसोले अस्पतालको कार्ड लिएर समेत हिँड्ने गरेका छन् । एम्बुलेन्समा बिरामी नभएका मानिसहरूलाई यात्रा गराइरहेको त धेरै पाइएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण अहिले हरेक गतिविधि ठप्प छ । र, सरकारले विभिन्न माध्यमबाट ‘घरमै बसिदिन आग्रह’ गरेको छ । तर, काठमाडौंमा विभिन्न बहानामा लकडाउनको उल्लङ्घन गर्दै बाहिर निस्किहेका छन् । 

काठमाडौं उपत्यकामा लकडाउनको उल्लङ्घन प्रायः बिहानको तुलनामा साँझको समय हुने गरेको छ । सङ्क्रमित भेटिएका चन्द्रागिरिमा सिल गरिएको छ । तर पनि मानिसहरूको आवतजावतमा कडाइ नदेखिएको समाजसेवी तथा पत्रकार रामनारायण घिमिरे बताउँछन् । ‘यो एरियामा रेड जोन हो । सिल समेत गरिएको छ । बिहान, दिउँसो खासै मान्छे देखिँदैनन् तर, साँझ परेपछि सडकमा गफ लगाउँदै हिँड्छन् । भौतिक दुरी त परको कतिपय जोडिएरै हिँड्छन् ।’

कोही कुकुर डुलाउने, कोही  मर्निङवाक हिँड्ने
कोरोना भाइरसको संक्रमण देखिएसँगै थप सतर्कता अपनाउन आवश्यक रहेको महसुस गरी लकडाउन कडा बनाइँदैछ । तर लापरबाही पनि उत्तिकै देखिन्छ । २ जना सङ्क्रमित रहेका काठमाडौंको चन्द्रागिरि नगरपालिकालाई सिल गरिएको छ । तर नागभित्रै कुकुर डुलाउने, मर्निङवाक हिड्नेलगायतका गतिविधिले लापरबाही भएको देखिन्छ । नगरवासीलाई दैनिक बिहान हिँड्ने मर्निङवाक र साँझमा हिँड्ने इभिनिङवाक तत्काल रोक्न अनुरोध गरेको मेयर घनश्याम गिरी बताउँछन् ।

अत्यावश्यकबाहेकका अन्य काममा घरबाहिर ननिस्कन पटक–पटक अनुरोध गरे पनि नरोकिएको गिरीको गुनासो छ । उनले भने, ‘हामीले धेरै पटक नगरवासीलाई मर्निङवाक र इभिनिङवाक नहिँड्न अनुरोध गरेका छौँ, कतिपयले मानेका छन्, तर कतिपयले मानेका छैनन् । काठमाडौं उपत्यकाभर बिहान  र बेलुका लकडाउन उल्लङ्घन गर्नेहरू बढेको प्रहरीको भनाइ छ  ।

‘बिहान बेलुका अलि बढी नै उल्लङ्घन भएको छ, प्रहरी आउने बेला मात्रै लुक्ने र अरुबेला बाहिर निस्कने गतिविधि बढ्न थालेपछि कारबाही पनि बढाएका छौँ,’ काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली भन्छन्, ‘यो आग्रह उहाँहरूकै स्वास्थ्यका लागि हो । नागरिक स्तरबाटै बुझ्न जरुरी छ ।’  पक्राउ परेकालाई सार्वजनिक सचेतनासहित छाड्ने गरिएको एसएसपी ज्ञवालीले सुनाए ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि