विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले शनिबार मन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेको राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।
मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको स्रोतले जनाएको छ । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन । ९३ सदस्यीय प्रदेश सभा एकमा नेकपाका ६७ सांसद छन् ।
त्यसमध्ये प्रचण्ड नेपाल समूहका ४७ जना छन् भने ओली पक्षका २० जना मात्रै रहेका छन् । यो प्रदेशमा प्रचण्ड नेपाल समूह मिल्दा मुख्यमन्त्री राई नेतृत्वको सरकारविरुद्ध अविवास प्रस्ताव आए उनी सहजै हट्न सक्छन् । उनी पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् ।