काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई चिरा परेकाबेला गरेको हेरफेर अनुसार नवनियुक्त मन्त्रीले शपश लिएका छन् ।
हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाइएको छ ।
पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । यसअघि पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको भनिएका मणि थापाले खानेपानी मन्त्रालय र प्रभु साहले शहरी विकास मन्त्रालय पाएका छन् । थापा इमानदार र बौद्धिक कम्युनिस्ट नेता हुन् । उनले यसअघि राजकीय जिम्मेवारी पाएका थिएनन् ।
त्यसैगरी प्रधानमन्त्रीले प्रेम आलेलाई वन मन्त्री बनाएका छन् । गौरीशंकर चौधरी श्रम र गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री बनेका छन् । सिन्धुपाल्चोकबाट प्रदेश सांसदमा पराजित दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोको बहिनी जुलीकुमारी महतोलाई महिला बालबालिका मन्त्री बनाएर प्रधानमन्त्री ओलीले यसअघिको पुनर्गठनमा उनका पति रघुवीर महासेठलाई हटाएको आक्रोश मेटाउने प्रयास गरेका छन् । उद्योग राज्यमन्त्री मोती दुगडलाई विमला विश्वकर्माले विस्थापित गरेकी छन् ।
प्रधानमन्त्रीले महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिव्यवस्था मन्त्री बनाएका छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालय सम्हाल्ने छिन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन र संघीय मामिलामन्त्री रहेका हृदयश त्रिपाठीलाई स्वास्थ्य मन्त्री बनाइएको छ ।
शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।