तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदै छन् ।
विक्रम संवत् २०५२ साल फागुन एक गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोहको सुरुवात गरेको सम्झनामा यो दिवस मनाइँदै आइएको छ ।
संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर माओवादीले नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।
२०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो ।
सशस्त्र विद्रोह सुरु भएको दिनलाई तत्कालीन माओवादीमा रहेका दलहरूले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।
शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन् । विभिन्न पार्टी र समूहमा विभाजित उनीहरूले केन्द्रदेखि जिल्लासम्म छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् ।
तत्कालीन माओवादीको मूल नेतृत्व नेकपा एमालेसँग पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको छ ।
पहिलो संविधानसभा विगठनपछि तत्कालीन माओवादीबाट विभाजन भएका मोहन वैद्य तथा नेत्रविक्रम चन्द विप्लव समूह अलग अलग पार्टीमा छन् । यी पार्टीले काठमाडौँ तथा देशैभर र्याली तथा सभा आयोजना गरेका छन् ।
दोस्रो संविधानसभा र संविधान जारीपछि तत्कालीन नेकपा माओवादी केन्द्रबाट अलग भएका डा. बाबुराम भट्टराईले अलग पार्टी गठन गरेका थिए । हाल अहिले उनले उपेन्द्र यादवको पार्टी (समाजवादी पार्टी) सँग एकता गरेका छन् । उनले जनयुद्ध दिवस औपचारिक रूपमा नमनाउने बताइएको छ ।
तत्कालीन माओवादीको नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड हाल नेकपाका अध्यक्ष छन् । नेकपाले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘जनयुद्ध दिवस’ मनाउँदै छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्ने विषय अन्योलमा थियो । अन्योलकै बिच दिवसलाई जनआन्दोलनका सहिद र जनयुद्धका सहिदको स्मृतिका रूपमा मनाइएको थियो । तर त्यति बेला अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत नेताहरू सहभागी भएनन् ।
उनीहरूको सहभागिता नभएपछि पूर्वमाओवादीका कार्यकर्ताले आलोचना गरेका थिए । पूर्वएमालेका अमृत बोहोरा, वामदेव गौतम, सुवास नेम्वाङ, महासचिव पौडेल भने कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा पूर्वमाओवादी कार्यकर्ताको भने भिड नै लागेको थियो ।