बैशाख १५, २०८१, शनिबार
               

डोटीमा टेलिकमको एफटिटीएच सेवा सुरु

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

डोटी । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा सुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा सुरु गरिएको हो । सेवा सुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न थालेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।

अहलिेसम्म जिल्ला सदरमुकाम सिलगढीमा १७८ तथा पिपल्ला र राजपुर बजारमा २५४ गरी कूल ४३२ ग्राहकले एफटिटीएच सेवा जडान गरेका छन् । यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा उक्त सेवा जडान गर्ने कार्य सुरु गरिएको हो । उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने नेपाल टेलिकम दिपायलले जनाएको छ । यतिमात्र नभई उक्त सेवाबाट टिभीसमेत चलाउन मिल्ने बनाइएको छ ।

यसअघि यो सेवा काठमाडौंमा मात्रै सुरु गरिएको भए पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा विस्तार गर्न थालिएको छ । नेपाल टेलिकमले एफटिटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए ।

उनका अनुसार एफटिटीएच सेवाअन्तर्गत न्यूनतम एक वर्षका लागि आड एमबीपीएसको प्याकमा जम्मा आठ हजार रुपैयाँमा उपलब्ध शुल्क लाग्ने भएको छ भने २० एमबीपीएसको प्याकमा १२ हजार लाग्ने भएको छ । हाल एफटिटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाइ राउटर (सिपीइ) र १०० मिटर फाइबर केवल तार निःशुल्क प्राप्त गरिरहेका छन् ।

एफटिटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपलप्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको नेपाल टेलिकम दिपायल राजपुरका प्रमुख केशवराज भट्टले बताए ।

उनले भने, ‘यो नेट प्रविधि तारको सट्टामा घरसम्म अप्टिकल फाइवर पु¥याई ट्रिपलप्ले सेवा दिने भएकाले राम्रो छ, इन्टरनेटको क्षमता पनि अरुभन्दा छिटोछरितो छ, उच्च गतिको भाइवरबाट सञ्चालन हुने भएकाले ग्राहकलाई राम्रै फाइदा छ ।’

पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि सेवा अपग्रेड गरी एफटिटीएच सेवा लिनसक्ने र यो आइपीमा आधारित सेवा भएको दिपायल राजपुर टेलिकमका प्राविधिक मुकेश रावलले जानकारी दिए ।

हाल जिल्लामा जडान गरिएका दुईवटा एफडिसी (फाइवर डिष्ट्रिब्युसन क्याबिनेट) को एक हजार २४ लाइन एफटिटीएच वितरण क्षमता रहेको र यसमध्ये ७६८ लाइन तत्काल वितरण गर्न सकिने नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ । 

यसैगरी जिल्लामा थप सात वटा एफडीसी जडान गरी ग्रामीण तथा घना बस्ती क्षेत्रमा समेत उक्त सेवा थप विस्तार गर्ने टेलिकमको योजना छ । जिल्लामा यसअघि एडिएसएल र फोरजी सेवा विस्तार गरिँदै आएको भए पनि अबदेखि जिल्लाका सबै ठाउँमा एफटिटीएच सेवा सञ्चालन हुने टेलिकम राजपुरले जनाएको छ । डोटीमा यो सेवा विस्तार भएपछि छिमेकी जिल्ला डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुरामा पनि विस्तार गरिने टेलिकमको योजना रहेको प्रमुख भट्टले जानकारी दिए । ल्याण्डलाइन नभए पनि इनटरनेट तथा टिभी सेवा सञ्चालन हुने भएकाले जिल्लामा अहिले यो सेवा लिने ग्राहकको सङ्ख्या बढेको बताइएको छ ।
 
उच्च गतिबाट इन्टरनेट चलिरहेकाले यो सेवा लिएका ग्राहक पनि खुशी भएको भए पनि भनेको जति द्रुतगतिको नभएको दिपायल पिपल्लाका स्थानीयवासी दिव्यराज पाठकले बताए । उनले भने, ‘टेलिकमले भनेको जति नेट द्रुतगतिमा छैन, तर पनि पहिलेको एडिएसएल सेवाभन्दा राम्रो छ ।’ 


कस्तो लाग्यो ?

यो पनि