जेठ ०२, २०८१, बुधबार
               

ललितपुरमा कुटिएका ट्राफिक प्रहरीको अल्का अस्पतालमा उपचार हुँदै

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । ललितपुरमा एक ट्राफिक प्रहरीमाथि कुटपिट भएकाे छ । पुल्चोक नजिकै प्रदर्शनकारीबाट प्रहरी जवान कमलप्रसाद घिमिरे कुटिएका हुन् । प्रदर्शनकारीको कुटाइबाट घाइते भएका प्रहरी जवान घिमिरेको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घिमिरेकाे टाउको, हातखुट्टा, ढाडमा चोट लागेको छ । निषेधाज्ञाबीच रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीले अवरोध गरेपछि आक्रोशित भीडले मोटरसाइलमा सवार ट्राफिक प्रहरी जवानलाई कुटपिट गरेका हुन् । घिमिरे चढेको बा २ झ ७२४२ नम्बरको मोटरसाइकल कुटपिट भएकै स्थानमा पल्टियो । 

त्यसअघि प्रहरी र रथ तान्ने समूह बीच झडप भएको थियो । स्थिति तनावपूर्ण बनेपछि जावलाखेल, पुल्चोक र मंगलबजारबाट आउने सवारी साधनलाई ‘डाइभर्ट’ गर्ने भनिएको थियो । मंगलबजारबाट आउने सवारीलाई रोक्न अघि बढेका ट्राफिक प्रहरी जवान घिमिरेलाई प्रदर्शनकारीले आक्रमण गरेकाे प्रहरीले जनाएको छ । 

उनीमाथि भएकाे कुटपिटकाे भिडियो क्लिपअनुसार कसैले कुटपिट गरहेका बीचबाट उनलाई जोगाउन पनि खोजे । त्यही जोगाउने समूहको मद्दतका कारण अप्रिय घटना हुन पाएन । 

कोरोना कहरका कारण जारी निषेधाज्ञाका बेला रातो मच्छिन्द्रनाथको रथयात्रा प्रभावित भएपछि आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । 

घिमिरेको घर दुधौली नगरपालिका-४ सिन्धुली हो । रामेछापको चोप्राङमा दरबन्दी भएका प्रहरी जवान घिमिरे गत मंगलबारदेखि महागनरीय ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत छन् ।


कस्तो लाग्यो ?

यो पनि