बैशाख १५, २०८१, शनिबार
               

बाढीपहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । पश्चिम म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ ।    

धवलागिरि गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका– ७ बिम र बेनी नगरपालिका– २ बगरफाँटमा पहिराले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम समस्या भएको हो । 

गत असार २६ गते बिहान आएको पहिराले गाउँनजिकै रहेको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्याङ्की, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको छ ।    

पहिराले बस्तीभित्र ल्याइएको खानेपानीको पाइप क्षतिग्रस्त भएपछि तत्काल पाइपको अभाव र मुहानसमेत पहिराले पुरेकाले शुद्ध पिउने पानीको अभाव भएको पहिरो पीडितको भनाइ छ ।

पहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएपछि सबैले घर बाहिर आकाशे पानीका लागि गाग्री थाप्नुपरेको छ । पहिराले बस्ती नजिकै रहेका पानीको मुहान, पाइपमा क्षति पुगेको अवस्थामा तत्काल नयाँ योजनासहित मर्मत गर्नुपर्ने वडा सदस्य तिलकुमारी केसीले बताए । 

घरघरमा रहेका पानीका धारामा पानी आउन छोडेपछि सरसफाइ, लुगा धुनसमेत समस्या भएको स्थानीयको भनाइ छ । वडाभित्र करिब १७ हजार जनसङ्ख्या रहेकामा २१ घर पहिराले पुरिदिएको छ भने २०२ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जीवन बिताइरहेका छन् ।

करिब ४०० घरधुरी छ । पहिराले मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने दुई जना बेपत्ता छन् । यता मालिका गाउँपालिका–७ बिममा समेत पहिराले दुई करोडभन्दा बढी लागतको बिम लिफ्ट खानेपानी आयोजना बगाएपछि खानेपानीको हाहाकार मच्चिएको छ । बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटरमाथि रहेको रिजर्भ ट्याङ्कीमा पुर्‍याएर करिब १५० घरधुरीलाई वितरण भइरहेको खानेपानी गएको असार २५ गतेको पहिराले बगाएपछि खोल्साखोल्सीको पानी पिउन स्थानीय बाध्य छन् ।

बिमको बाइनफाँट, दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिराले पुरिएको छ भने ५५ घरमा आंशिक क्षति र ७० घर पहिरोको उच्च जोखिममा छन् । 


कस्तो लाग्यो ?

यो पनि