बैशाख २३, २०८१, आइतबार
               

प्रधानमन्त्रीद्वारा देशबासीकाे नाममा सम्बाेधन (पूर्णपाठसहित)

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, 

आज म यहाँहरूसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तिमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पुर्‍याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ ।

गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढी/पहिरोबाट प्रभावित भएका छन्। हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रूकुम पश्चिम, जाजरकोट र दोलखा गरी ८ जिल्लामा पहिरोले क्षति पुर्‍याएको छ । सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण क्षति व्यहोर्नु परेको छ ।
यस क्रममा ३५ जनाले ज्यानै गुमाउनु परेको छ, ३२ जना घाइते भएका छन् र ३४ जना अझै बेपत्ता छन् । १०० घर क्षतिग्रस्त बनेका छन्, ३०१ परिवार विस्थापित हुनु परेको छ ।

सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धारमा आवश्यक सुरक्षाकर्मीहरू परिचालित गरिसकेको छ। संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको छ र प्रभावितहरूलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ ।

यस्ता विपत्तिहरूबाट सुरक्षित हुन सरकारले उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरू मात्र होइन, विपत्तिमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने जस्ता अनेकौं दूरगामी महत्त्वका कार्यक्रमहरू पनि सँगसँगै सञ्चालन गरिरहेको छ ।

बाढीपहिरोको यस प्राकृतिक विपद्का कारण झण्डै तीन दर्जन नेपाली दाजुभाइ दिदीबहिनीहरूको असमयमै जीवन गुमेकोमा गहिरो दुःख व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ।

दाजुभाइ तथा दिदीबहिनीहरू, 

बाढी पहिरो, भूक्षय, आगजनी, चट्याङ, भूकम्पजस्ता विभिन्न खालका प्राकृतिक विपत्तिको नेपाल सधैँ उच्च जोखिममा रहेको छ । हरेक वर्ष गर्मीयाममा हामीले आगजनीको समस्या भोग्नु परेको हुन्छ र वर्षात् सँगसँगै बाढी पहिरोका कारणले क्षति व्यहोर्नु परेको हुन्छ । विपद्‍मा परेर घरवार गुमाउने र जिउधनको क्षति व्यहोर्नु पर्ने समस्या हामी नेपालीको नियतिजस्तै बन्ने गरेको छ ।

यस क्रममा सरकारले तत्काल उद्धार कार्यमा कुनै कसर नराखी सम्पूर्ण सामर्थ्यका साथ ध्यान दिँदै आएको छ । जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरू बाढी पहिरो सुरू भएदेखि नै तत्परताका साथ उद्धार र सहयोग कार्यमा जुट्दै आएका छन । नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको छ ।

यतिबेला मेरो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ । हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन कीमार्थ पनि मिल्दैन । तसर्थः जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधिहरू, राजनीतिक नेता, कार्यकर्ताहरू एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रूपमा अघि बढाइहाल्नु पर्दछ । म यहाँहरू सबैलाई सम्बन्धित स्थानमा उद्धार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरूको सहयोगमा केन्द्रित हुन विशेष आह्वान गर्न चाहन्छु । 

यस्तो प्राकृतिक विपत्तिप्रति सजग रहँदै अत्यावश्यक उद्धार, सहयोग र उपचारमा ध्यान दिइरहेको बेला हामी विश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयासमा रहेको तथ्यलाई पनि भुल्नु हुँदैन । विश्वका विभिन्न मुलुकहरूमा झैं हामीकहाँ पनि कोरोना महामारीको संकट हटिसकेको छैन ।

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा करिब चार महिनादेखि हामी सम्पूर्ण रूपमा केन्द्रित रहेका छौं । र, कोरोनाको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरूत्थानमा लागिपरेका छौं । 

असार २६ गतेसम्म १६ हजार ६ सय ४९ जना नेपालीहरू कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेहरूको संख्या ३५ रहेको छ, जुन कूल संक्रमितहरूको ०.२१ प्रतिशत हो ।

उमेर समूहका हिसाबले २१ वर्षमाथि र ४० वर्षमुनिका संक्रमितहरूको संख्या ६० प्रतिशतभन्दा बढी रहेको छ । यसबाट स्पष्ट हुन्छ, संक्रमितहरू मध्येको ठूलो संख्या सक्रिय र कामकाजी उमेर समूहको छ ।

कूल संक्रमितको ४८.१ प्रतिशत अर्थात् ८ हजार ११ जना निको भएर घर फर्किसक्नु भएको छ । अझै कूल संक्रमितको ५१.९ प्रतिशत उपचारकै क्रममा हुनुहुन्छ । र, २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा हुनुहुन्छ । 

दाजुभाइ तथा दिदीबहिनीहरू, 

हामीले सुरूदेखि नै संक्रमितहरूको पिसिआर परीक्षणमा जोड दिँदै आएका छौं, र यसलाई कूल जनसंख्याको २ प्रतिशत पुर्‍याउने लक्ष्य राखेका थियौं। हाम्रो यो प्रयास जारी छ र हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जना संक्रमितहरूको पिसिआर परीक्षण गरिएको छ । यो संख्या प्रति दश लाख जनसंख्यामा ९ हजार ३ सय ७७ हो । 

कोरोना रोकथाम कार्यमा १ लाख १० हजार ४ सय ६२ जना सुरक्षकर्मीहरूलाई परिचालन गरिएको छ । सुरक्षाकर्मीसँगै उपलब्ध संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रूपमा उपचार कार्यमा अहोरात्र खटिरहनु भएको छ । वास्तवमा यही जनशक्तिको बलमा हामीले कोरोनालाई परास्त गर्दै अघि बढ्न सकिरहेका छौं ।

लकडाउनको यस अवधिमा भारतबाट २ लाख ८८ हजार ८ सय ६४ जना र विभिन्न अन्य मुलुकहरूबाट २३ हजार २ सय ५४ जना नेपालीहरू स्वदेश फर्किनु भएको छ । 

यही असार २५ गतेसम्मको प्रदेशअनुसारको स्थिति हेर्दा सबैभन्दा बढी संक्रमित संख्या प्रदेश नं २ मा रहेको छ । त्यसपछि क्रमशः प्रदेश नं ५, सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र बागमती प्रदेश रहेका छन् । हाम्रा प्रयासले कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउने क्रममा यो स्थितिमा परिवर्तन पनि आएको छ । 

लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ । गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कूल संख्या २३३ पुग्यो। यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीव्ररूपमा बढ्दै जाँदैछ । यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जनासमेत हुन सक्छ । तसर्थः हामी सबैमा थप गम्भीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ । 

राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक/स्वास्थ्यकर्मीहरूबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउनु पर्दछ। छोटकरीमा एस–एम–एस भनिएको- सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय-समयमा हात धुने कामको लागि म सबैको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।

दिदीबहिनी तथा दाजुभाइहरू,

अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ। त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो । महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू पनि उठ्नु अन्यथा होइन ।

जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ । 

अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुन सक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ । 

यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ।

धन्यवाद।


कस्तो लाग्यो ?

यो पनि