बैशाख १४, २०८१, शुक्रबार
               

आइसिटी अवार्डको शीर्ष प्रायोजक ‘एफवान सफ्ट’

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

एफवान सफ्टले छैटौँ संस्करणको आइसिटी अवार्डको शीर्ष प्रायोजन गर्ने भएको छ । आइसिटी अवार्ड आयोजक लिभिङ विथ आइसिटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि सोमबार सम्झौता भएको हो । सम्झौतापछि कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ हुनेछ । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित आइसिटी अवार्डको छैटौँ संस्करणमा ११ विधामा नोमिनेसन खुला गरिएको थियो । त्यसमा ३५० भन्दा बढीको आवेदन परेको छ  । अहिले विभिन्न चरणमा छनोट प्रक्रियाहरू सञ्चालन भइरहेको छ । अवार्डका विजेतालाई पुरस्कार वितरण तथा ग्राण्ड फिनाले कार्यक्रम १७ डिसेम्बर २०२१ मा सोल्टी होटेलमा आयोजना हुनेछ । आइसिटी अवार्डको प्रि इभेन्ट क्याम्पियनको रूपमा यही असोज १५ गते ४० बढी स्टार्टअपलाई मेन्टरिङ सेसन र १६ गते शनिवार एक्जिविसन आयोजना भइरहेको आयोजकले जनाएको छ । 

एफवान सफ्ट १७ वर्षअघि स्थापना भएको नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदान गर्ने संस्था हो । एफवान सफ्ट ग्रुपअन्तर्गत हाल १३ कम्पनी सञ्चालन भइरहेका छन्, जसमा एफवान सफ्ट, ई–सेवा, फोनपे, ई–सेवा मनी ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक, दर्शन टेक, एक्टेन्सो डेटा, स्वस्तिक कलेज, बस सेवा, ई–सेवा ट्राभल आदि छन् ।

कम्पनीले एक हजार बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । आइसिटी अवार्डसँगको सहकार्यले नेपालको डिजिटल इकोसिस्टमलाई सघाउ पुर्‍याउने एफवान सफ्टका ग्रुप सिओओ शिशिर पछाईले बताए । एफवान सफ्टको सहकार्यले नेपालमा स्टार्टअप तथा इन्नोभेसनको प्रवर्धनसँगै आइसिटी अवार्डको महत्त्व र प्रतिष्ठालाई अझ उचाइमा पुर्‍याउन सकिने अवार्ड आयोजक समितिका संयोजक राजन लम्सालले बताए । 

यो वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड, डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर) गरी ११ विधामा आइसिटी अवार्डको नोमिनेशन खुला गरिएको थियो ।  

गत भदौ १५ देखि आइसिटी अवार्डको छनोट प्रक्रिया सुरु भइसकेको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट ११ प्रतिस्पर्धी सार्वजनिक भएका छन् । आइसिटी अवार्डमा सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञहरूको जुरी समिति र १५ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ । सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन् । 

यस वर्ष अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्त्वपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन् । पावर्ड वाई स्पन्सर ह्वावेले स्टार्टअप आइसिटी अवार्ड विधाको विजेतालाई ३ लाख बराबरको हुवावेका महत्त्वपूर्ण सेवाहरू प्रदान गर्नेछ । 

यो पनि